तीन महिना उपचारपछि रविलक्ष्मी चित्रकार स्वदेश फर्कंदै
काठमाडौं/पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएपछि सोमबार नेपाल फर्कने भएकी छन् । जेन–जी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा गम्भीर घाइते भई ज्यानको जोखिमपूर्ण अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधार भएपछि उनलाई स्वदेश ल्याउन लागिएको हो ।
गत २४ भदौमा खनाल दम्पतीको निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५ देखि १७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेर संक्रमण फैलिँदै जाँदा उनको अवस्था जटिल बनेको थियो । सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइए पनि फोक्सोमा निमोनियाको संक्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीको एपोलो अस्पताल लगिएको थियो ।
एपोलो अस्पतालमा भर्ना भएपछि लामो समयसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । संक्रमण नियन्त्रण गर्न चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो । त्यसपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आईसीयूबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पतालबाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन् ।
खनालका अनुसार चित्रकार अहिले पूर्ण रूपमा पहिलेकै जस्तो तन्दुरुस्त नभए पनि उनको ज्यान जोगिएको छ र स्वास्थ्य क्रमशः सुधारोन्मुख अवस्थामा रहेको छ ।






