राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपति शमशेरलाई हो, रवीन्द्रको अफवाह

by | पुस ७, २०८२

राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपति शमशेरलाई हो, रवीन्द्रको अफवाह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ पशुपतिशमशेर राणासहित चार जना र समानुपातिकतर्फ प्रा. डा. जयन्तनाथ खनालसहित छ जनालाई उम्मेदवार सिफारिस गरेको पुष्टि भएको छ । राप्रपा काठमाडौं–१ क्षेत्रीय समितिले रविन्द्र मिश्रलाई उम्मेदवार सिफारिस नगरेको स्पष्ट पारेको छ ।

काठमाडौं क्षेत्र नं. १ को क्षेत्रीय समितिको बैठकले गत हप्ता नै उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय समिति अध्यक्ष रामेश्वर श्रेष्ठको हस्ताक्षरसहितको माइन्युट पार्टी सचिवालयमा दर्ता भइसकेको क्षेत्रीय समिति सदस्य विनोद दवाडीले जानकारी दिए ।

दवाडीका अनुसार क्षेत्रीय समितिले रविन्द्र मिश्रको नाम सिफारिस नगरेपछि मिश्रले समितिबाहिरका व्यक्तिहरू प्रयोग गरी आफ्नो नाम सिफारिस भएको भन्दै भ्रम फैलाएको आरोप छ । क्षेत्रीय अध्यक्ष श्रेष्ठले अस्वीकार गरेपछि छुट्टै कापीमा आफ्नो नाम लेखाएर त्यसलाई सिफारिसजस्तो देखाई सामाजिक सञ्जालमा प्रचार गरिएको दाबी गरिएको छ ।

यसप्रति आपत्ति जनाउँदै राप्रपा काठमाडौं–१ का कार्यकर्ता, क्षेत्रीय समिति तथा सबै वडा समितिका सदस्यहरूले भेला आह्वान गरेका छन् । उनीहरूले उक्त गतिविधिलाई गैरजिम्मेवार ठहर गर्दै आवश्यक प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

दवाडीका अनुसार आजभोलिमै क्षेत्र नं. १ का सबै सक्रिय सदस्यहरूको सहभागितामा भेला गर्ने तयारी भइरहेको छ । साथै, काठमाडौं–१ बाट प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस भएका उम्मेदवारहरूको माइन्युट पनि सार्वजनिक गरिएको छ ।