जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकद्वारा सम्पादित कार्यक्रमका बारेमा अन्तर्क्रिया
धुलिखेल/जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले संचारकर्मीसँग जिल्लामा सम्पादित बार्षिक कृयाकलापहरु सम्वन्धी अन्र्तक्रिया आयोजना गरेको छ । जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितीका बारेमा जानकारी गराएकी थिईन् । बागमती प्रदेशमा काभ्रेपलाञ्चोक जिल्ला सुचकांकका हिसाबले अग्र स्थानमा रहेको बताउँदै नेपालको तथ्यांकमा बागमती प्रदेशको तथ्यांक उस्तै उस्तै रहेको बताईन् ।
स्वास्थ्यमा सुधार ल्याउन तीन तहका सरकारको समन्वय र सहकार्यमा विशेषगरी सर्ने भन्दा नसर्ने रोगको न्यूनीकरण र रोग लाग्नै नदिने विषयमा सचेतना फैलाउनु पर्ने बताईन् । सरकारको अभियान रोग लागिसके पछि भन्दा रोग लाग्नै नदिने तर्फ विशेष कार्यक्रमहरु संचालन गर्न सबै पक्ष लाग्नु पर्ने बताईन् ।
जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लामा संचालन भएका विभिन्न कार्यक्रमहरुमा भएको प्रगति र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । जिल्लामा रेविजको महामारी रहेको तर रेविजका लागि आवश्यक पर्ने खोप लगायतका सेवाको अभाव रहेको छ ।
सामुदायिक कुकुर ब्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरिरहेको जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपतिले बताईन् । अर्काे महत्वपूर्ण समस्या भनेको बालबालिकाहरुले खान पाउने ६ महिनासम्म आमाको दुधको अभाव हुन थालेको छ । महिलाहरु सुत्केरी भएको तीन महिनाको अवधी भित्रै जिम्मेवारीमा फर्कँदा बालबालिकाहरुले ६ महिनासम्म नियमित आमाको दुध खान पाउने अधिकारबाट बञ्चित हुँदा उत्पन्न हुने समस्याका बारेमा छलफल शुरु गर्नु पर्ने बताए ।
आर्थिक वर्ष २०८२/२०८३ का नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले नेपालमा प्रजनन दरको अवस्था, प्रसुतीको अवस्था, खोप तथा रोगहरुको अवस्थाका बारेमा जानकारुी गराउँदै कुल सुत्केरीको ७.२७ प्रतिशत २० वर्ष मुनिका बालिकाहरु रहेको बताए । अस्पतालको तथ्यांकमा ५० प्रतिशत जति अप्रेसन मार्फत सुत्केरी हुने गरेको तथ्यांक छ भने ८७ प्रतिशत सुत्केरीहरु स्वास्थ्य प्रदायक संस्थामा हुने गरेको उनले बताए ।
कार्यक्रममा जिल्लामा सक्रिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले स्वास्थ्य पहिलो र मेरो अधिकारका रुपमा लिँदै कार्यक्रमहरु अघि बढाउनु पर्ने बताए ।
मानसिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, सबै नीतिमा स्वास्थ्य, स्वास्थ्यमा प्रविधिकरण, प्रदेश स्वास्थ्य सहजर्ता कार्यक्रम, योग, ध्यान, प्राणायम तथा प्रदेश योग समिति गठन, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, एक जिल्ला, एक स्वस्थ सहर कार्यक्रम, अस्पतालहरुमा विशेषज्ञ सेवाहरुको विकास र विस्तार, सुशासन लगायतका कार्यक्रमहरु प्राथमिकतामा रहेको प्रमुख रागिश्री कक्षपतिले बताईन् ।






