क्रिसमस पर्वमा रात्रि भोज, शीर मेमोरियाल अस्पतालद्वारा समुदायसँग माया साटासाट
बनेपा/शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपाद्वारा समुदायमा माया साटासाट कार्यक्रम अन्तर्गत क्रिसमस रात्रि भोज कार्यक्रम आयोजना गरिएको छ ।
समुदायसँगको आपसी सम्बन्ध सुदृढ गर्ने, प्रेम, सेवा र सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ थिए । मन्तव्यका क्रममा मन्त्री श्रेष्ठले शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको स्थापना र त्यसले समुदायमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
काभ्रेपलाञ्चोक जिल्लामा मात्र नभई आसपासका जिल्लाका नागरिकलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै मन्त्री बादे श्रेष्ठले स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अस्पतालजस्ता संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै उनले प्रदेश सरकारले शुरु गरेको विश्वविद्यालय मार्फत शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु प्राथमिकतामा राख्ने उल्लेख गरे ।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले समुदायसँगको प्रेम सद्भाव र त्यसका महत्वपूर्ण पक्षहरुका बारेमा उल्लेख गर्दै अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा पनि प्रेम झल्कने बताए । डा. गायरसले शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालको स्थापना, उद्देश्य र सेवा यात्राका बारेमा जानकारी गराए । अस्पतालको स्थापना समुदायमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ गरिएको उनले बताए । सोहि अवसरमा संस्थाका अध्यक्षको शुभकामना भिडियो सन्देश प्रसारण गरिएको थियो ।
शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल एडभेन्टिस्ट हेल्थ नेटवर्क अन्तर्गत सञ्चालन हुँदै आएको अस्पताल हो । स्थापनाकालदेखि नै अस्पतालले उपचारात्मक सेवासँगै रोकथाममुखी स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, सामुदायिक स्वास्थ्य कार्यक्रम तथा विपन्न वर्ग लक्षित सेवामा विशेष ध्यान दिँदै आएको छ ।
अस्पतालले आकस्मिक सेवा, आमा तथा शिशु स्वास्थ्य, शल्यक्रिया, बाह्य तथा आन्तरिक रोग उपचार, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । डा. गायरसले समुदायको विश्वास, स्थानीय सरकारको सहकार्य तथा स्वास्थ्यकर्मीहरूको समर्पणका कारण अस्पतालले निरन्तर सेवा विस्तार गर्न सफल भएको बताए । आगामी दिनमा सेवा थप विस्तार गर्दै आधुनिक प्रविधि र विशेषज्ञ सेवा भित्र्याउने योजनाबारे उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रत्न ढकालले शीर मेमोरियल अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे । समुदाय र सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाबीच सहकार्य भएमा स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी हुने धारणा व्यक्त गरे । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शीर मेमोरियल अस्पताल बनेपा नगरको महत्वपूर्ण स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको उल्लेख गरे । अस्पतालसँग स्थानीय सरकारको सम्वन्ध र समन्वयका बारेमा चर्चा गर्दै उनले आगामी दिनमा थप सहकार्यमा जोड दिए ।
नगर उपप्रमुख विमला सापकोटाले अस्पतालले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गका लागि पु¥याउँदै आएको सेवाको प्रशंसा गरिन् । कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै अस्पतालले स्वास्थ्य सेवासँगै सामाजिक चेतना अभिवृद्धिमा खेलेको भूमिकाको चर्चा गरे । सामुदायिक कार्यक्रमले अस्पताल र समुदायबीचको सम्बन्ध अझ मजबुत हुने सहभागिहरुले बताए ।
क्रिसमस पर्वको अवसरमा आयोजित रात्रि भोजमा आपसी सद्भाव, प्रेम र सहकार्यको सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अस्पतालका प्रशासकीय प्रमुख डा.एन्जिला बस्नेत तथा विभागिय प्रमुखहरु, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।
शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले आगामी दिनमा पनि स्वास्थ्य सेवा सँगसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पताल र समुदायबीचको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूको निष्कर्ष रहेको छ । उपस्थित सम्पूर्णमा अस्पतालका सुन्दर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।






