अवोधपनको फाइदा उठाउनेलाई कारबाही होस् : रविलक्ष्मी चित्रकार
काठमाडौं / ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीमा परी गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार भारतमा लामो उपचारपछि सोमबार साँझ स्वदेश फर्किएकी छिन् ।
आफ्नै निवासमा भएको आगजनीमा फसेपछि श्वासप्रश्वास र जलनको गम्भीर समस्या भोगेकी चित्रकारको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भएको थियो । दुःखद रूपमा, आगजनीबाट भएको गम्भीर संक्रमणका कारण उपचारका क्रममा उनले आफ्नो बायाँ हात गुमाउनु परेको छ ।
स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चित्रकारले आफ्नो व्यक्तिगत पीडाभन्दा माथि उठेर राष्ट्रिय चिन्ता व्यक्त गरिन् । उनले राज्यसँग आफ्नो उपचार वा राहतका लागि कुनै गुनासो नरहेको स्पष्ट पारिन् । यद्यपि, उनले कलिला युवाहरूको भावनासँग खेलेर देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वहरूप्रति कडा आक्रोश पोखेकी छिन् ।
‘मेरो राज्यसँग अरू केही गुनासो छैन, मात्र एउटै अपेक्षा छ,’ भावुक हुँदै उनले भनिन्, ‘भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जसले देशलाई नष्ट पार्न खोजे, त्यस्ता तत्त्वहरूलाई यो सरकारले खोजेर कानुनी कठघरामा उभ्याउनुपर्छ ।’
आगजनीको घटनालगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। तर, फोक्सोमा धुवाँ जमेको कारण निमोनिया र उच्च ज्वरो देखिएपछि थप उपचारका लागि उनलाई भारत लगिएको थियो । चिकित्सकहरूका अनुसार आगजनीको धुवाँले उनको फोक्सोमा गम्भीर असर पुर्याएको थियो ।






