पौष १३ गते हलिं नेवाः गुथिले एकता दिवस मनाउँदै
बनेपा/ ने.सं.११४६ पहेंलाथ्व नमीः अर्थात पौष १३ गते आईतबार नवमी तिथीका दिन १६ औ नेवाः एकता दिवस मनाउन मुल समारोह समिति गठन गरी तयारी शुरु गरिएको छ । तयारी स्वरुप एकता दिवसका सन्दर्भमा जानकारी दिन मंगलबार बनेपामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
नेवाः एकता दिवस मुल आयोजक समिति काभ्रेका संयोजक जगनाथ श्रेष्ठले १६ औ नेवाःएकता दिवस र त्यसको महत्व तथा आगामी योजनाका बारेमा जानकारी गराए । बनेपाको अल्काज क्याफेमा आयोजित पत्रकार सम्मेलनमा हलि नेवाःगुथि भ्वाँत दे कचाःका नायो रामकाजी प्रधान, हलिं नेवा: गुथिका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, हलिं नेवाः गुथि महिला समिति अध्यक्ष अल्का जोशी, सम्पदा संरक्षणमा सक्रिय युवा भिषण मधिकर्मी लगायतले नेवाः एकता दिवसका बारेमा जानकारी गराएका थिए ।
जिल्लाको सांस्कृतिक सम्पदाको धनी ऐतिहासिक थलोका रुपमा विकास भएको तत्कालिन सात गाउँ बनेपा, नाला, साँगा, धुलिखेल, खड्पु, चौकोट र पनौतीका नेवार संस्कृति र सम्पदाको जगेर्ना गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । जिल्लामा हलिं नेवाः एकता धिमे बाजा सहितको ¥याली र नेवारी भोज कार्यक्रमको आयोजना हुनेछ । विगत ४ वर्ष देखि जिल्लामा यस्ता कार्यक्रमहरु आयोजना हुँदै आएका छन् ।
विशेगरी नेवारी संस्कृति, परम्परा तथा नेवारी समुदाय भित्रका विभिन्न मौलिकता जोडिएका विषयलाई एकता दिवसका अवसरमा थप परिस्कृत र संस्थागत गर्दै पुस्तान्तरण गर्नु पर्नेमा सहभागिहरुले जोड दिए । पत्रकार सम्मेलनमा केन्द्रीय समितिमा आवद्ध तीर्थभक्त स्याउला, विनु कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।





