राष्ट्रपतिसँगै प्रधानमन्त्री कार्की र ३ दलका शीर्षनेताबीच छलफलः निर्वाचन सफल बनाउने समझदारी
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।






