सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको बताइएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घटनास्थल शङ्कास्पद देखिएकाले सोही दिन तत्काल मृतककी सासू मायारानी र नन्द मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बुवा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सोमबार पक्राउ परेका प्रतिवादीको नाममा किटानी जाहेरी दर्ता गराएका छन् ।
‘उक्त जाहेरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको र पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप लिई घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने, ‘प्रारम्भिक सोधपुछको क्रममा पक्राउ परेकी मीनाले मृतक सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बताएकी छन् ।’
कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट पेट्रोलसहितको दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतलमा पिधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको (पुल्ठो) समेत फेला परेको छ ।
उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत आगोको लप्काले भेटेर दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएको र उहाँलाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ ।






