बनेपाका पुराना सडक र खोलाको मापदण्ड अतिक्रमणमा

by | पुस ९, २०८२

बनेपाका पुराना सडक र खोलाको मापदण्ड अतिक्रमणमा

बनेपा/स्थानीय सरकारको बेवास्ताका कारण बनेपामा सार्वजनिक जग्गा तथा सडकहरु अतिक्रमणमा पर्ने क्रम तिब्र बनेको छ । अरनिको राजमार्ग निर्माण हुनु अघि देखि नै नागरिकहरुले प्रयोग गरिरहेको गोरेटो बाटो पहुँच र स्थानीय सरकारको वेवास्ताका कारण स्थानीयहरुले अतिक्रमण गरी कब्जा गरेका छन् । 
अरनिको राजमार्गको विस्तारसँगै पुराना सडकहरु मासिने क्रम तिब्र बनेको छ । बनेपा नगरपालिका वडा नम्वर ८ मा रहेको अरनिको राजमार्गसँग जोडिएको सडक अहिले स्थानीयको अतिक्रमणमा परेको छ । उक्त सडक पुर्वको लोकमार्ग मानिन्थ्यो । यहि सडक हुँदै राजधानी जानु पर्ने अवस्था थियो । उक्त सडक लामो समय ओझेलमा परे पछि स्थानीयहरुले कब्जा गरेका छन् । स्थानीय सरकारले उक्त सडकलाई संरक्षण गर्न चासो दिएको छैन । त्यसकै फाईदा सडक छेउमा रहेका स्थानीयहरुले उठाएको सरोकारवालाले बताएका छन् । 
त्यस्तै पूण्यमाता करिडोरको छेउमा सर्वसाधारण आवतजावत गर्न समेत नसक्ने गरी तत्कालिन मायोज रहेको जग्गामा जग्गाधनीहरुले बाटो छेकेर वाल लगाएका छन् । जस्ताको ट्रस्ट बनाएका छन् । वडा मार्फत पटक पटक सडक निर्माणका लागि करिडोर क्षेत्रमा कुनै पनि पुर्वाधार निर्माण नगर्न भने पनि जर्बजस्ति रुपमा उक्त सडक रोकेर संरचना निर्माण गरिएको छ । स्थानीयले वडा र नगरपालिकालाई उक्त विषयमा जानकारी गराए पछि सडक मापदण्ड भित्र बनेका अबैद्य संरचना भत्काउन नगरपालिकाले चासो देखाएको छैन । 
पछिल्लो समय स्थानीय सरकारकै कारण जंगल, सडक, कुवा, धारो तथा पुराना संरचनाहरु नष्ट हुँदै जान थालेका छन् । यसको संरक्षणमा भन्दा स्थानीय सरकारका प्रतिनिधिहरु ब्यवसायीहरुसँगको सहकार्यमा मुनाफामा केन्द्रित देखिन्छन् ।