राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

by | पुस ९, २०८२

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘दुई दलबीच एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अहिले एकता गर्ने सहमति मात्रै भएको छ । पद बाँडफाँटको कुरा केही भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभयो ।’

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।