ख्रीष्टमस अन्तराष्ट्रिय महोत्सव

by | पुस १०, २०८२

ख्रीष्टमस अन्तराष्ट्रिय महोत्सव

विश्वभरी नै ख्रीष्टमसले मानिसहरूलाई दुई वटा कुराहरूले व्यस्त बनाउँछ । संसार भरी नै मान्यता प्राप्त र चलनचल्तिमा रहेको क्यालेण्डर सकिदै गरेको र नयाँ बर्ष आउदै गरेको यो हप्ता अति नै व्यस्त बनाउँछ । विश्वका विभिन्न भाषामा अधिकांश क्यालेण्डरले २५ डिसेम्वरलाई रातो लिपिमा लिपिबद्ध गर्छन् । यो सौभाग्य हामी नेपाली इसाईहरूले पनि अवश्य पाउनेछौं ।

ख्रीष्टमसले सबै देशका जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रलाई प्रभाव पारिरहेको हुन्छ । ख्रीष्टमसलाई विशेष गरी वडादिन, जन्मदिवस, नयाँ दिन र जन्मउत्सवको दिन भनेर पनि सम्वोधन गरिन्छ । ख्रीष्टमस वास्तवमा इसाईहरूको उत्सव भएता पनि अरुले पनि विभिन्न प्रकारले मनाउदै आएकाछन् । तर उहाँका अनुयायीहरूले येशूकोजन्मोत्सव शालीनता, अर्थपूर्ण र सुसमाचरीय तरिकाले मनाउन सिक्नुपर्छ र सिकाउनुपर्छ । किनभने ख्रीष्टमस अर्थात येशूको जन्म बिना कल्बरीको उद्धारको कथा कसरी सम्भव होला र ? चिसो चिसो मौसममा विश्व नै ख्रीष्टमसले तातेको छ । जहाँ जता गए पनि चर्चा परिचर्चा ख्रीष्टमस कै छ । इसाई तथा गैरइसाई सबैले नै मनाउने अन्तराष्ट्रिय उत्सव भएको छ । ख्रीष्टमसलाई मिसन केन्द्रित गराउनु, मुक्तिदाता चिनाउनुु र आनन्दको सुसमाचार फैलाउनु हाम्रो मुख्य उद्देश्य हुनुपर्छ । ख्रीष्टमस र नवबर्षको सवभन्दा बहुमूल्य उपहार येशू स्वयम हुनुहुन्छ । येशू उपहार नै ख्रीष्टमस उपहार हो । जुन सारामानव जातिलाई आवश्यक छ । किनकि येशू मुक्तिदाता, इमानुएल, उद्धारकर्ता, राजाहरूका राजा,परमेश्वरको पुत्र र अभिषिक्त जन हुनुहुन्छ । ईश्वरत्वको सारा रहस्य ख्रीष्टको कुमारी जन्ममा नै रहेको छ । यसैभित्र ख्रीष्टको ईश्वरत्व, धर्मशास्त्र बाइबलको प्रेरणा अनि मुक्तिको सम्पूर्ण योजना रहेको छ ।

कन्याबाट जन्मने सत्यताको सिद्धान्त विना सिद्ध बली र पापीको मुक्ति असम्भव थियो । यो एक हटाउन नसक्ने,बदल्न नसक्ने र सजिलै बुझ्न नसक्ने सत्यता हो । येशू अहिले डुडमा हुनुहुन्न, डुङ्गामा हुनुहुन्न न त क्रुसमा नै हुनुहुन्छ, तर उहाँ सिहांसनमा विराजमान हुनुहुन्छ । यो येशू ख्रीष्टको जन्मोत्सवलाई मुक्तिको सन्देश र अभिषिक्त उपहार सारा मानिसलाई दिने मिसनको रुपमा ख्रीष्टमस मनाउनु हाम्रो दर्शन बन्नुपर्छ । सामान्य गोठालो देखि ज्ञानी ज्योतिषीहरूले समेत येशूलाई दर्शन भेट गरेझैं सबै वर्ग, जाति, भाषी र वर्णकाले उहाँलाई दर्शन गर्नु आवश्यक छ । आदमको ठीक विपरित येशूले वास्तवमा परमेश्वरको स्वरुपमा सृष्टि गरिएको मानिस कस्तो हुनुपर्छ भन्ने कुरा प्रकट गरेर देखाउन येशू कन्या मरियमबाट जन्मिन दिनुभयो । येशूले मानिसको सिमिततालाई स्वीकार्नु भयो अनि परिक्षा हुँदाहुदै पनि जीवनमा उद्देश्य तथा परिपूर्णता प्राप्त गर्नुभयो । परमेश्वरको प्रतिनिधी भएर उहाँले पिताको आज्ञा पूर्णरुपले पालन गर्नुभयो । त्यसप्रकारको साँचो मानवता प्रकट गरिदिनुभयो । जुन अरु कसैले देखाउन सक्दैन । जीवन परमेश्वरले दिनुभएको एउटा बहुमूल्य उपहार हो, के तपाईंले हरेक दिन तपाईंको अन्तिम दिन हुनसक्छ भनी जीउँनुभएको छ ? यदि तपाईंलाई पृथ्वीमा यो तपाईंको अन्तिम दिन हो भनी भनियो भने पाँचवटा केके धेरै महत्वपूर्ण कुराहरू तपाईंले गर्नुहुनेछ ? के तपाईंले परमेश्वरको खोजी गर्नुहुनेछ ? भनिन्छ एक बर्षसम्म बाँच्नु र बचाँउनुछ भने धानमकै आलु रोप्नु , यदि १० बर्ष सम्म बाच्नु र बचाउनु छ भने फलफूल रोप्नु र जीवनभर अनन्त सम्म बाँच्नु र बचाउनु छ भने नयाँ आत्मा रोप्नु भनिन्छ । हामीले हाम्रो जीवनलाई नयाँ आत्माजित्ने कुरामा लगानी गर्नुपर्दछ । जुन दिन हामीले येशूलाई ग्रहण ग¥यौं त्यहि दिनमा नै येशूले हामीलाई किन स्वर्गमा लैजानु भएन त ? हामी यहाँ किन छौ भने येशूको साक्षी बन्नको लागि जीउँदो छौं ।

येशू पवित्रआत्माबाट गर्भधारण भएर जन्मिएको कारण मानव र परमेश्वर दुवै हुनुहुन्थ्यो । येशूले परमेश्वरको स्वरुप प्रकट गर्नुमा एउटा ठूलो अर्थ लुकेको थियो । जुन अर्थ साधारण व्यक्तिमा पाँइदैन । येशूमा केवल परमेश्वरको स्वरुप मात्र थिएन, उहाँ नै परमेश्वरको स्वरुप हुनुहुन्थ्यो । परमेश्वरको सिद्ध प्रतिनिधि हुनुहुन्थ्यो । आदमबाट सुरु भएको पाप पतनलाई येशूले मृत्यु र पुनरुत्थानबाट धार्मिकतालाई पुनःस्थापन गरिदिनुभयो । आदमबाट पुस्तौपुस्तामा सरेको पापलाई येशू माथिको विश्वास र कामले मानव फेरि उहाँको स्वरुप र सिद्ध मानिस बन्न सक्ने हैसिएत पायो । त्यसैले येशूलाई डुड, डुङ्गा र क्रुसमा होइन स्वर्गीय सिहासनमा विराजमान हुने जीवित येशूको जन्मदिवश मनाऔं भन्दै ख्रीष्टमस विशेषांक तपाईहरूमा समर्पण गर्दछौ । सारा विश्व नै ख्रीष्टमस र नयाँ बर्षले तातेको अवसरमा मेरो पनि हजुरलाई हार्दिक शुभकामना ।