ज्येष्ठ नागरिक प्रति श्रध्दा र सम्मान
पांचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पवित्र तथा महत्वपुर्ण दिनमा समस्त ज्येष्ठनागरिकहरूको सु-स्वास्थ्य, सुखमय, शान्ति, समृध्दि र उत्तोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपालमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको थालनी
ज्येष्ठ नागरिकहरूको अन्दोलन,जुलुस,धर्ना लगायतका कार्यक्रमहरू र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालको अथक प्रयास र पहलमा ज्येष्ठ नागरिक ऐन २०६३, संशोधन हुनुका साथै २०७८ जेठ १० गते बसेको नेपाल सरकार, मन्त्री परिषद्को बैठकबाट हरेक बर्ष पौष ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय भए अनुसार २०७८ पौष ११ गते देखि ज्येष्ठ नागरिकसंग सम्बन्धित लगायतका बिभिन्न संस्थाहरु, नेपाल सरकारका बिभिन्न निकायहरुले बिभिन्न कार्यक्रम सहित नेपालमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन्दै आइरहेको छ । यस बर्ष अर्थात २०८२ पौष ११ “ हामी सबैको ज्येष्ठ नागरिक प्रति श्रध्दा र सम्मान” भन्ने नाराका साथ पांचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउंदै छ ।
राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वास्थ्य र मर्यादित जीवनशैलीको प्रवर्धन तथा उनीहरू माथि हुनेदुव्र्यवहार, हिंसा र विभेदको रोकथामका लागि आवाज उठाउनुका साथै बर्ष भरि गरिएका कार्यहरूको समिक्षा गर्दै त्यस कार्यहरूमा सुधार्नु पक्षलाई समेत सुधार्ने गरी आगामी बर्षको योजना तयार गरी अगाडी बढ्नु पनि हो । तर अहिले सम्म यसो हुन सकेको अबस्था छ त ?
ज्येष्ठ नागरिक
वास्तबमा भन्नु पर्दा वाल्य अवस्थाबाट बिभिन्न चरणहरू पार गर्दै भोगाइबाट खारिँदै वृध्द अवस्थामा पुगेको हुन्छ । यस अबस्थालाई ज्येष्ठ नागरिक भनिन्छ । ज्येष्ठ नागरिक सम्बन्धि नेपालको ऐन २०६३ (संशोधित २०७२।११।१३)” अनुसार ज्येष्ठ नागरिकका बारेमा निम्न बमोजिम उल्लेख गरेको छ ।
परिभाषा “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ”भनेका छन् । र नियमावलीको दफा १४मा जेष्ठ नागरिकहरुलाई निम्न ५ प्रकारमा बर्गिकरण गरिएको छः
क) सत्तरी वर्ष उमेर पूरा नगरेको ज्येष्ठ नागरिक,(ख) सत्तरी वर्ष उमेर पूरा गरेको वरिष्ठ ज्येष्ठ नागरिक,(ग) असहाय ज्येष्ठ नागरिक,घ) अशक्त ज्येष्ठ नागरिक, ङ) एकल ज्येष्ठनागरिकअहिले संसारभर ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको संख्या करिब एक अरब पुगेको छ । वि.सं २०७८ को जनगणनाअनुसार नेपालमा ज्येष्ठ नागरिकको संख्या २९ लाख ७७ हजार ४१८ छ।
श्रध्दा र सम्मान
नेपाली बृहत ज्ञानकोशमा ‘सम्मान’ शब्दको अर्थ विशेष मान, ठूलो आदर वा सत्कार, प्रतिष्ठा, इज्जत भनेर भनेको छ । सम्मान भनेको कुनै व्यक्तिको प्रतिभा, परिश्रम वा समाजका लागि दिएको योगदानको पहिचान हो। यसले पाउने व्यक्तिलाई मात्र होइन, दिने ब्यक्ति वा संस्थालाई पनि गौरव दिलाउँछ।
प्रायः ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा कुनै न कुनै क्षेत्रमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएको वा दिइरहेको हुन्छन् । सम्मानको महत्त्व र गरिमा बुझेर, उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित रूपमा पहिचान र मूल्याङ्कन गरी सम्मान गर्नाले समाजमा मात्र नभइ परिवारमा समेत सकारात्मक प्रभाव हुन्छ । यसले ज्येष्ठ नागरिकलाई स्वीकार गर्ने परिपाटीको विकास हुनमा पनि टेवा पुग्दछ । सम्मान गर्दै आवश्यक हेरचाह र समर्थन गरेको खण्डमा उनीहरूले आफ्नो जीवन मर्यादित रहेको अनुभव गर्न सक्छन् । बिभिन्न कारणले परिवारमा श्रध्दा,सम्मान,आदर आदि संस्कार र संस्कृति हराउंदै गएको पाइन्छ । र समाजमा भने वास्तबिक सम्मान भन्दा देखावती सम्मान माैलाउन्दै गएको देखिन्छ ।
वास्तबिक रूपमा भन्ने हो भने सम्मान शब्द नै एउटा सम्मानित पद हो,तर यो सबैले प्राप्त नसक्ला पनि । त्यसैले सम्मानको महत्त्व र गरिमा बुझेर, सम्मान,श्रध्दा,आदर तथा सेवा सुबिधाहरू प्रदान गर्न वा दिन अगाडी, सबै प्रति न्यायोचित,भेदभाव र बिबाद रहित हुन्छ वा हुन्दैन भन्ने गहन रूपमा सोच्नु जरूरी हुन्छ ।
वर्षमा एक, दुई दिन गरिने सामान्य औपचारिक कार्यक्रमले ज्येष्ठ नागरिकको हित हुँदैन । उनीहरुलाई घर, परिवार र समाज र राज्यको सहयोग निरन्तर गर्दै तीनिहरूको हक, हित, संरक्षण
र सम्बद्र्धन गर्न सकेमा मात्र उनीहरुको वास्तविक सम्मान हुन सक्छ ।
परिवारलाई पनि सम्मान र सहयोग
ज्येष्ठ नागरिकको पारिवारिक, आर्थिक, भाैतिक,सामाजिक लगायतका स्थिति र अवस्थाहरूको पहिचान गरि आबश्यक भएकाहरूलाई मात्र,आबश्यक्ता अनुसार ज्येष्ठ नागरिकलाई स्याहार गर्ने ब्यक्ति वा परिवारलाई पनि सम्मान गर्ने र सामाजिक सुरक्षाको नीतिगत ब्यबस्था गर्नुपर्दछ । यसो गर्दा स्याहार वा परिवारलाई मात्र नभई अन्य ब्यक्ति तथा परिवारहरूलाई उत्प्रेणा तथा हाैसला मिल्ने हुन्छ ।
ज्येष्ठ नागरिक सम्बन्धि नियम,कानुन तथा कार्य विधिमा उल्लेखित अधिकार,सेवा सुविधाहरू मध्ये केहि मात्र लागु भईरहेको अबस्था छ । यसमा पनि निम्न लगायतका बिभेद र समस्याहरू भोग्नु परिरहेका छन् ।जस्तो कि,
–नेपालको अन्तरिम संविधान र ज्येष्ठ नागरिक ऐन, २०६३ ले ६० वर्ष उमेर पूरा गरेकालाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेता पनि सामाजिक सुरक्षा भत्ता लगायत अन्य कतिपय सेवा तथा सुबिधाहरू सबै ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरू पाउनबाट बञ्चित छन् ।
– जटिल शारीरिक समस्या भएका ज्येष्ठ नागरिकहरू स्वास्थ्य बिमाको सुबिधा लिन तोकिएको सेवा केन्द्रबाट सिफारिस लिन नसकिरहेको अबस्था ।
– कतिपय ज्येष्ठ नागरिकहरू नेपालमा आफ्नै मातृभूमीमा जन्मेर,हुर्केर पनि नागरिकता नपाएर सबै सेवा सुविधाहरूबाट बञ्चित भएर ज्यादै कष्टकर जीवन बिताइरहेका छन् ।
– अस्पताल तथा कतिपय अन्य सार्वजनिक ठाउंहरू धेरै समय सम्म लार्इन बस्नु पर्दा सोही ठाउं मै ढल्ने,मुर्छित हुने लगायतका घटनाहरू हुने गरेको । आदि
यस प्रति पनि सम्बन्धि निकायहरूको ध्यान जान अति जरूरी छ, ज्येष्ठ नागरिकहरू प्रति श्रध्दा,आदर र सम्मान गर्ने हो भने ।
धन्यवाद ।






