माओवादी श्रम शिविरमा प्रहरीको अपरेसनपछि विप्लवको आक्रोश– माफी नमागे ठूलो मूल्य चुकाउनुपर्ने छ

by | पुस ११, २०८२

माओवादी श्रम शिविरमा प्रहरीको अपरेसनपछि विप्लवको आक्रोश– माफी नमागे ठूलो मूल्य चुकाउनुपर्ने छ

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरूमा प्रहरीले अपरेसन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए। ‘सरकारले चुनाव गर्न चाहेको हो कि युद्धरु’ प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो। उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेसनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए।

महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेसन भयो। हामी सुशीलालाई यहीबाट थ्रेट गर्न चाहन्छौँ–राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौकि युद्ध गर्न चाहेका हौरु यो कुराको फैसला चाहिन्छ।’

उनले थपे, ‘हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि। यतापट्टीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरूसँगको हाम्रो लडाईंलाई, यहाँको दलालसँगको हाम्रो लडाईंलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेसन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौ। र हाम्रो केन्द्रीय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने मूल्य चर्को पर्छ भन्ने हामी भन्न चाहन्छौँ।’

महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे।