अस्तित्व नै समाप्त पारेर एकता सम्भव हुँदैनः कुलमान घिसिङ

by | पुस १२, २०८२

अस्तित्व नै समाप्त पारेर एकता सम्भव हुँदैनः कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरुलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो ।’

देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताएका मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए ।

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट होउन भन्ने रहेको भन्दै उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे ।

उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै मन्त्री घिसिङले घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,’ उनले भने ।

मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको पनि बताए । ‘हामीसँग आम जनताको विश्वास छ । यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।