हामी चुनावका लागि तयार छौँः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारेकोमा कटाक्ष गरेका छन्।
मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेषगरि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गरेका हुन्।
‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं। कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला।’
फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ।
ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीच भएको राजनीतिक सहकार्यलाई ‘दुब्लाहरुको गठजोड’ भन्दै टिप्पणी समेत गरे। एमालेजस्तो बलियो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि कमजोर शक्तिहरूले सहकार्य गर्नुपरेको उनको भनाइ छ।
उनले को लोकप्रिय छ भन्ने निर्णय आगामी निर्वाचनबाट हुने स्पष्ट पार्दै लोकतन्त्र कहिल्यै पराजित नहुने र आगामी चुनावमा एमालेको विजय सुनिश्चित भएको जिकिर गरे।
‘अहिले सिर्जना गरिएका लोकप्रियता–अलोकप्रियताका बहसहरूको जवाफ एमालेको महाधिवेशनले दिइसकेको छ,’ ओलीले भने, ‘अब बाँकी फैसला निर्वाचनले गर्नेछ। हामी चुनावका लागि तयार छौँ।’






