चिवा भञ्ज्याङबाट साईकल यात्रा गर्ने टोली धरान पुग्यो

by | पुस १६, २०८२

चिवा भञ्ज्याङबाट साईकल यात्रा गर्ने टोली धरान पुग्यो

क्यान्सर प्रभावितहरुको उपचारमा सहयोग गर्नका लागि कोष संकलन गर्ने उद्देश्यले साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालबीचको सहकार्यमा सन् २०२६ जनवरी १ तारिखदेखि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म गरिने साइकल अभियान टोली झापा हुँदै पाँचथर पुग्ने क्रममा सोमबार धरान पुगेको छ । 
एक महिनासम्म चल्ने १८०० किमी लामो मध्यपहाडी लोकमार्ग यात्रा अभियान टोली पाँचथर चिवा भञ्ज्याङसम्मको यात्रा गाडीमा हुँदैछ भने चिवा भञ्ज्याङबाट साइकल यात्राको थालनी हुनेछ । काठमाडौं एवं धुलिखेलबाट वीपी राजमार्ग अनि सिन्धुली भिमानबाट मदन भण्डारी लोकमार्ग हुँदै धरान आईपुगेको टोलीमा क्यान्सर विजेताद्वय एवं प्रमुख राईडर हर्क लामा, कविता चित्रकार, साइकल कल्चर कम्युनिटीका एवं राइडर ज्ञानेन्द्र स्थापित,  धुलिखेल अस्पतालका प्रा डा सुमन राज ताम्राकार, ट्रेक व्यवसायी बुद्ध लामा परिवार, फोर्टिन पिक प्रडक्शनका फोटोग्राफरद्वय शिरीषमान र सुजल पौडेल छन् । उक्त टोलीलाई धरानस्थित पेडलर्स धरानका उपाध्यक्ष विजय श्रेष्ठले स्वागत गर्नुभयो । उक्त साईकल टोली धरानबाट विर्तामोड, झापा लाग्नेछ । त्यहाँ साइकल कल्चर कम्युनिटीका अध्यक्ष एवं प्रमुख राइडर प्रा. डा. तारा लाल श्रेष्ठ र धुलिखेल अस्पतालका चिकित्सक एवं यस साईक्लिङ अभियानका एक प्रमुख राईडर डा. विकास पराजुली जोडिने छ ।