राष्ट्रभक्ति
सुन्दर मेरी मातृभूमि, हाँसी फूलझैँ फुली,
हृदयको सिंहासनमा, बस्छे प्रेमले डुली।
शिखर चुम्ने हिमशिरा, केशजाल सरी छन्,
हरिया वन अङ्गालो, ममताले भरी छन्।
नदी–नाला नील वेणी, शोभा कमरभरिका,
लहरसँगै हल्लिन्छ, लोभ–प्रेमिल मन स्मारिका।
लाली गुराँस गालामा, मुस्कान चन्द्रमाको,
राष्ट्र रूपी सुन्दरी तिमी मोहिनी यो मनको।
माटोको सुवासमा, सास मेरा मिसिन्छन्,
यसकै काखमा मेरा, सपना सजिन्छन्।
वीर सपूतका पाइलामा, गुञ्जन्छ प्रेम गाथा,
विविधताले सजिएको, देशको पवित्र कथा।
छातीमा सजाई राखूँ, झण्डा प्रियतम झैँ,
उसको इज्जत जोगाउन, जिउँछु म सधैँ।
बोलीमा मधुर संगीत, चालमा लय भरी,
राष्ट्रप्रेम रस झर्छ, शृङ्गारले युक्त बनी।
सिन्धु–हावा सास बन्छ, पहाड मेरै तन,
देश बिना म अधूरो, देशमै मेरो मन।
नयन मेरा तिर्खाउँछन्, यसकै सौन्दर्य पिउन,
एक क्षण पनि नसकूँ, यसबाट टाढा हुन।
परदेशी मोह टाढा, आफ्नै माटो प्यारो,
यही मन्दिर, यही देव, यही स्वर्ग मेरो।
शृङ्गार रसको मूल, मातृभूमि नै हो,
यसकै प्रेमले जीवन, उज्यालो बनी गो।
कण–कणमा नाम तिम्रो, जपिरहूँ म सदा,
प्रेम र कर्म मिलाई, चढाऔं नित्य श्रद्धा।
यदि जीवन फूल हो भने, देश यसको सुगन्ध,
त्यसैमा रम्ने मेरो, चित्त रहोस् अनन्त।
सुन्दरी राष्ट्रमाता, चरणमा शीश राखी,
सन्तान बन्छु म भाग्य यसैलाई ठानी।
भोला के.सी.(भट्टराई), बनेपा,बुडोल






