वार्षिकोत्सवको अवसरमा बालज्योती आधारभुत विद्यालयको नयाँ भवन उद्घाटन

by | पुस १६, २०८२

वार्षिकोत्सवको अवसरमा बालज्योती आधारभुत विद्यालयको नयाँ भवन उद्घाटन

धुलिखेल नगरपालिका वडा नं.१० शारदा बतासे स्थित श्री बालज्योती आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले भव्य कार्यक्रमकाबीच नयाँ भवन उद्घाटन गरेका हुन् । ५१ लाख ७४ हजार रुपैयाँको लागतमा २ दुई तले २ कोठे भवन निर्माण भएको छ । धुलिखेल नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोक, वडा कार्यालय लगायत विभिन्न दाताको सहयोगमा भवन निर्माण भएको हो । शिक्षा विकास तथा समन्वय इकाई मार्फत ३६ लाख, नगरपालिकाबाट १३ लाख, विद्यालयले २ लाख २४ हजार र वडा अध्यक्षको संयोजनमा ५० हजार रुपैयाँ प्राप्त भएको प्रधानाध्यापक कौमा काफ्ले भट्टराइले जानकारी दिइन् । नयाँ भवनमा प्रशासनिक कक्ष, स्मार्ट बोर्ड र एमजीएमएल कक्षा सञ्चालन गरिएको छ । विद्यालयमा हाल १ सय १७ जना विद्यार्थी अध्ययनरत छन् ।
बालज्योती आधारभुत विद्यालय महिला शिक्षकद्वारा सञ्चालित विद्यालय हो । व्यवस्थापन समितिमा समेत महिलाको मात्रै नेतृत्व छ । विद्यालयले क्रमशः शैक्षिक सुधारमा समेत फड्को मारेको छ । नगरस्तरीय आधारभुत तहको खेलकुद प्रतियोगितामा दौस्रो स्थान हासिल गरेको थियो । प्रविधिको प्रयोग मार्फत शिक्षण सिकाईमा जोड दिइएको छ । एमजीएमएल शिक्षण सिकाई, लुमा डिभाइस, स्मार्ट बोर्डको प्रयोग लगायतका नविनतम विधिको प्रयोग गरी शैक्षिक सुधारमा निरन्तर लागिरहेको प्रधानाध्यापक भट्टराइले बताइन् । ग्राभिटी वाटरले शुद्ध खानेपानीको उपलब्धताका लागि सहजीकरण गरेको छ । अभिभावकसँगको निरन्तरको सहकार्यले शैक्षिक उपलब्धिका साथै समस्या समाधानका लागि सहयोग पुगेको बताइन् ।
नगर प्रमुख अशोक ब्याञ्जुले विद्यालय पढ्ने ठाउँ मात्रै नभई संस्कार, अनुशासन र सीप सिक्ने थलो भएको भन्दै व्यवहारिक सिकाईमा जोड दिन आग्रह गरेका छन् । बदलिँदो परिवेशसँगै शिक्षालाई प्रविधि र सिपसँग जोड्नुपर्ने बताए । विद्यालय, विद्यार्थी, अभिभावक र सरोकारवाला निकायको सहकार्यबाट नै गुणस्तरीय शिक्षाको अभियान सार्थक हुन सक्ने उनले बताए । समृद्ध नगर निर्माणको आधार शिक्षा रहेको भन्दै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताए ।

वडा अध्यक्ष गोविन्द उपाध्यायले विद्यार्थीमा गरिएको लगानी सक्षम र समृद्ध मुलुकको आधार भएको बताए ।सहायक प्रधानाध्यापक प्रतिमा घिमिरेले २०५० सालमा स्थापना भएको विद्यालयले सबैको सहकार्यमा नै यो उचाई प्राप्त गरेको बताइन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अप्सरा खड्काले समुदायसँगको अन्तरसम्बन्धलाई प्रगाढ बनाउँदै लगिएको बताइन् । विद्यालयमा देखिएका असल अभ्यासलाई प्रोत्साहन र समस्या समाधानका लागि महिनामा एक पटक आमा समुहको बैठक बस्ने गरेको उनले बताइन् ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिक बहादुर राई, शिक्षा शाखाका अशोक कुमार घिमिरे, पवित्रा पौडेल, वडा सचिव इश्वर सापकोटा, वडा सदस्यहरु सम्झाना परियार, अशोक कुमार शाह, रत्नमान तामाङ, मछेन्द्र रावत लगायतको उपस्थिती रहेको थियो । समाजसेवीहरु कृष्ण प्रसाद पराजुली, खेमराज शाह, भरत बस्नेत, प्रेमबहादुर केसी, पदम प्रसाद धिमाल, नारायण केसी, विद्यालय व्यवस्थापन समिति पुर्व अध्यक्ष रमा केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कक्षा इसिडीदेखि ८ सम्म अध्ययनरत विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।