मानवअधिकारको अवस्था विग्रँदो
अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ पुस १६ गते बनेपामा मानवअधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम भएको छ ।
समिक्षा कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले वर्ष पुस्तकले मानवअधिकार सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले हिंसाका रुप र स्वरुप बदलिएको अवस्थामा सचेतनाका कामका तौरतरिका बदल्न आग्रह गर्दै अहिलेको अवस्था कोही कसैलाई नटेर्ने भएको हुँदा सबैमा उत्साह, हौसलाका साथै मनोबल बढाउन आग्रह उनको आग्रह छ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले मानिसहरूलाई सामाजिक सञ्जालबाट प्रताडित बनाउने र यस्तो अवस्थामा बोल्न पनि नसकिने कुरा मानवअधिकारका विषयबस्तुमा पर्ने कि नपर्ने भनेर प्रश्न राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका शाखाका पुरुषोत्तम अवस्थीले हिंसाका घटनामा कमी देखिएपनि बलात्कार, बहुविवाह, बाल यौन दुव्र्यवहार र आत्महत्याका घटनामा कमी नआएको बताए ।
मानवअधिकार सञ्जालका संयोजक भोजराज तिमल्सिनाले मानव अधिकारको अवस्था विग्रदो रहेको बताउँदै जिल्लामा व्यक्तिगत हत्या, बलात्कार लगायतका यौनजन्य हिंसा र सम्वन्ध विच्छेदका घटनामा बढोत्तरी भएको बताए ।
इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले स्वागत गरेको कार्यक्रममा आर्दश विद्या मन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, अग्रज पत्रकार प्रल्हाद शर्मा हुमागाई, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्मा, नेपाल मानवअधिकार संगठनका राजु सिग्देल, रेडक्रसका गोकुल बानियाँ, सामाजिक कार्यकर्ता कमल बन्जारा र रामकृष्ण आचार्य, माइती नेपालकी गायत्री गौतम लगायतले मानवअधिकारको अवस्थाका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।






