बनेपामा एग्रोभेट पसलहरुको अनुगमन

बनेपा/कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा रहेका एग्रोभेटहरुको अनुगमन गरिएको छ । बनेपामा रहेको साँग्रिला, अन्नपूर्ण, मानन्धर, चण्डिका, सर्वब्यापी एग्रिकल्चर, काभ्रे एग्रोभेट र पाँचखाल विज भण्डारमा अनुगमन गरिएको कृषि विकास कार्यालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विवेकानन्द महतले जानकारी दिए ।

बनेपामा गरिएको अनुगमनका क्रममा केहि पसलहरुमा म्याद सकिएका विषादी र विउहरु रहेको फेला परेको छ भने पसलकै दर्ता अवधीको म्याद सकिएको फेला परेको थियो । उपभोक्ताहरुले गुनासो गरेका कारण पटक पटक एग्रोभेटहरुलाई अभिमुखिकरण, सचेतना पछि अनुगमन गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । ब्यवसायीहरुलाई अनुगमनका नाममा हतोत्साही भन्दा उपभोक्तामैत्री ब्यवहार र ब्यवसाय गर्न सचेतना दिदै अनुगमन गरिएको उनले बताए ।

अनुगमनमा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, घरेलु कार्यालय, नेपाल पत्रकार महासंघ, काभ्रे उद्योग बाणिज्य संघ तथा विभिन्न सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कृषि विकास कार्यालयका तर्फबाट बाली संरक्षण अधिृकत रमा कार्की, कृषि प्रसार अधिकृत अमृता पौडेल लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा रहेका अन्य क्षेत्रका एग्रोभेटहरुको पनि अनुगमन गरिने छ । विशेषगरी विउ, विजन र विषादीका हकमा अनुमति नभएका र नविकरण नभएका तथा दर्ता भए नभएका, म्याद नभएका सामानहरु विक्री वितरण भएको विषयमा निरन्तर अनुगमन हुने कृषि विकास कार्यालयले जानकारी दिएको छ ।