कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारणसभा सम्पन्न
बनेपा/कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौंथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७८ सालमा दर्ता भएको मेनेजर्स क्लबले शुक्रबार विविध कार्यक्रम सहित साधारणसभा सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति श्रेष्ठले सहकारी क्षेत्रलाई बलियो बनाउन मेनेजरहरुको भूमिका महत्वपूर्ण रहने बताए । आर्टिफिसियल इन्टेलिजेन्स एआईको जमाना आइसकेकाले सहकारी क्षेत्रलाई अझै आधुनिक प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सहकारीका क्षेत्रका विकृति अन्त्यमा सहकारीका व्यवस्थापकको भूमिका महत्वपूर्ण रहने भन्दै विकृति अन्त्यका लागि हातेमालो गरेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थ, क्लबका पूर्व अध्यक्ष मदन बस्नेत लगायतले मन्तव्य राखेका थिए । साधारणसभाले अध्यक्ष गोपाल दाहालबाट प्रस्तुत प्रगति प्रतिवेदन र आगामी कार्ययोजना तथा कोषाध्यक्ष मनोज रायमाझीबाट प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
साधारणसभाकै अवसरमा सहकारी अभियानको वर्तमान अवस्था र भावी कार्यदिशा विषयमा अन्तरकृयासमेत गरिएको थियो । कार्यक्रममा सहकारीविद कुबेर निरौलाको कार्यपत्र प्रस्तुती र सहजीकरण रहेको थियो ।
उपाध्यक्ष ठाकुरनाथ अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव सुवास वैद्यले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला बचत सङ्घका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे २०७८ सालमा स्थापना भएको हो । सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको वृत्तिविकास र मानव संसाधन विकासको उद्देश्यले स्थापित क्लब सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो हो ।






