प्रदेशमा उत्कृष्ट बनेको धुलिखेल रविगाउँको सेतिदेवी माविले मनायो स्थापनाको ६४ औ बार्षिकोत्सव, स्थापना दिवसमा विद्यालयलाई नयाँ भवन उपहार
रविगाउँ, धुलिखेल/‘प्रविधि र संस्कारसहितको गुणस्तरीय शिक्षा, व्यवहार कुशल सिपमा निखारपन ल्याउने सेतीदेवीको इच्छा” भन्ने उद्घोष बोकेको धुलिखेल २ रविगाँउमा रहेको नगरको तथा बागमती प्रदेशकै नमूना सेतिदेवी माध्यमिक विद्यालयले स्थापनाको ६४ औ बार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । बार्षिकोत्सवको अवसरमा अभिभावक दिवस, विद्यालयमा निर्माण नभएको नवनिर्मित भवन हस्तान्तरण, विद्यार्थीहरुले पाठ्यपुस्तक अध्ययन पछि प्रयोगात्मक रुपमा तयार गरेका शैक्षिक सामाग्रीहरुको प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, तेक्वान्दो खेलको डेमो, शिक्षकहरुको विद्यालय गान तथा विविध कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले नमूना विद्यालयहरु निर्माण गर्ने, शिक्षाको गुणस्तर तल्लो कक्षा देखि नै कायम गर्ने, विद्यार्थीहरुलाई पाठयक्रम लक्षित ज्ञान प्रयोगात्मक रुपमा उपलब्ध गराउने, त्यसका लागि विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार, दक्ष जनशक्ति, आवश्यक बजेट तथा शिक्षकहरुलाई तालिम तथा अन्य आवश्यक विषयमा सहजिकरण गरिएको बताए । एमजीएमल कार्यक्रम लागु भएका सबै विद्यालयहरुले गुणस्तर सुधार गरेको बताउँदै क्रमश कक्षाहरु थप गरी उक्त कार्यक्रम थप प्रभावकारी बनाउने नगर प्रमुख ब्याञ्जुले बताए । हरेक वर्ष शैक्षिक प्रर्दशनीमा सेतिदेवीले कायम राखेको गुणस्तरलाई निरन्तर अघि बढाउन, प्रविधिमैत्री शिक्षा र कक्षाहरुलाई प्राथमिकतामा राख्न आवश्यक सहयोग र समन्वय रहने नगर प्रमुख ब्याञ्जुले बताए ।
कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, विद्यालयलाई सहयोग गर्ने विभिन्न क्षेत्रका ब्यक्तिहरु, जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अभिभावक र शिक्षकहरु, पुर्व प्रधानाध्यापक तथा शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखाका भोजकुमार ठकुरी, नगर क्षेत्रका अन्य विद्यालयका प्रधानाध्यापकहरुको तर्फबाट धुलिखेल १० कालिका मावीका प्रधानाध्यापक मनोहर थापा, सेतिदेवी माविकी शिक्षक कल्पना सापकोटा, विद्यार्थी अमृता गौतम लगायतले विद्यालयले प्रदान गरेको शिक्षाका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक राजकुमार सारु मगरले विद्यालयले शिक्षा केवल साक्षरता मात्र नभई चेतनाको उज्यालो र भविष्य निर्माणको आधारशिला भएको बताए । परम्परागत सिकाईबाट आधुनिक प्रविधितर्फ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विद्यालयलाई केवल एउटा शैक्षिक संस्थामा मात्र सीमित नराखी ज्ञान र नवीनताको एउटा गतिशील केन्द्रको रूपमा स्थापित गर्ने संकल्प प्रधानाध्यापक सारु मगरले ब्यक्त गरे ।
सेतिदेवी मावी राष्ट्रिय स्तरमा हुने मूल्यांकन पद्दति एस.ई.ई. तथा कक्षा १२ को नतिजामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । विद्यालयमा रहेका कक्षाकोठाहरु भित्ताले घेरिएका कोठा मात्र नभई आधुनिक स्मार्टबोर्ड जडित सिकाई केन्द्र भएको उनले बताए । विद्यार्थीहरूले २१ औँ शताब्दिमा आइरहेका नवीन शैक्षिक पद्धति मार्फत विश्वव्यापी प्रतिस्पर्धामा खरो उत्रिन सक्ने सीप सिक्न सहज भएको उनको तर्क छ । विद्यार्थीहरूमा समालोचनात्मक चिन्तन, जिवन जिउनेको कला (व्यवहारकुशल सिप), सिर्जनशीलता, नवप्रवर्तन, अहिलेको कृतिम बौद्दिकता जस्ता सिपहरु भर्न रोबोटिक्स तथा प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमको अभिन्न अंग बनाएको प्रधानाध्यापक सारु मगरले बताए । नगरपालिका र वडा सरकारको प्रमुख र सक्रिय सहभागिता र सहयोगका कारण मात्रै विद्यालयले सफलता प्राप्त गर्न सकेको प्रधानाध्यापक सारु मगरले बताए ।
विद्यालयको ऐतिहसिक पृष्ठभुमि
बि.सं २०१९ सालमा श्री सेतीदेबी पाठशालाको रुपमा स्थापित भई बि.सं २०२२ साल सम्म गाँउका पण्डितहरुले व्यवस्थापन गरी सञ्चालन गरेका थिए । २०२३ सालदेखी तत्कालिन गाँउ पञ्चायतका प्र.प.मिन बहादुर अधिकारीको सक्रियतामा गंगादेवी प्रा.वि.का शिक्षाकहरु आलोपालो गर्दै विभिन्न शिक्षकहरुर बनेपा निवासी भक्तलाल दुवालले सञ्चालन गर्दै वि.स. २०२९–८–२८ देखी प्राथमिक विद्यालयको रुपमा सञ्चालन भएको थियो । २०४२ साल देखी निम्न माध्यमिक तह सम्मको पढाई भएको र पछी २०५२ सालमा कक्षा १० सम्मको कक्षा सञ्चालन भएको र हाल आएर २०६६ पछी कक्षा १२ सम्मको कक्षा सञ्चालन भईरहेको छ । कक्षा ११ र कक्षा १२ सञ्चालनका लागी आर्थिक स्रोत जुटाउनका लागी सप्ताह माहायज्ञ लगाइएको थियो । यस बिद्यालय रहेको स्थानबाट करिब १ कि.मि. पश्चिममा रहेको श्री सेतीदेबी मन्दिरको नामबाट बिद्यालयको नाम श्री सेतीदेबी माध्यामिक बिद्यालय नाम रहन गएको हो । यस बिद्यालय २१ कोठे र नयाँ ३ कोठे पक्की भवन वनेको छ । यस बिद्यालयमा हाल कक्षा नर्सरी देखी कक्षा १२ सम्म गरी जम्मा ४०३ जना विद्यार्थीहरु अध्ययनरत छन् भने २३ जना शिक्षक १ जना सहायक लेखापाल, १ जना विद्यालय नर्स र २ जना कार्यालय सहयोगी कार्यरत छन् ।
विद्यालयको भौगोलिक अवस्थाः
प्रदेश नं. ३ काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं २ ,धुलिखेल नगरपालिका वडा नं. २ रवि, खर्का चौर मा श्री सेतीदेवी माध्यमिक विद्यालय अवस्थित छ, जसको अक्षांश २७.६४७६५३८२० , देशान्तर ८५.५५९५५०१६० र समुद्री सतहदेखी उचाई १३१० मिटर रहेको यस विद्यालय वरिपरि पातलो वस्तिको बसोबास छ । विद्यालयको पूर्व तिर पाचखाल नगरपालिका , दक्षिणमा धुलिखेल न.पा वडा न ३ , पश्चिममा बनेपा नगरपालिका वडा न ५ ओपी र उत्तरमा धुलिखेल न.पा वडा १ र पाचखाल न.पा रहेको छ ।विद्यालयको नजिकैवाट विद्युतको ११००० केभिए ट्रन्समिसन प्रसारण लाईन गएको छ । विद्यालयवाटै उत्तर तर्फ जुगल र लाङ्टाङ हिमश्रीङ्खला देखीन सकिन्छ । यस ठाउमा जग्गा जमिनमा केवल हिउँदे र वर्षे गरि २ बालि लाग्दछ, साथै आकाशे वर्षामा भर पर्नुपर्ने यहाँको बाध्यता छ। किसानहरु आफ्नो तरकारी बेच्नका लागी नजिकको बनेपा बजारमा लैजाने गर्दछ्न । विद्यालयबाट नजिकै पक्कि सडकभएतापनि यस विद्यालयको सेवाक्षेत्रबाट बालबालिकाहरु करीब एक घण्टा सम्म पैदल हिडेर आउनु पर्ने बाध्यता छ । नजिकको अस्पताल करीव ७ कि.मी टाढा रहेको छ । यस विद्यालयको सेवाक्षेत्रलाई पहाड तथा डाँडा र हरियो वन जङ्गलले ढाकिएको छ ।
विद्यालयमा रहेको समुदायको बनोट
यस विद्यालयको सेवा क्षेत्र भित्र बहुसंख्यक बाहुन ,क्षेत्री र तामाङ समुदाय छन् भने परियार, भुजेल, नेवार, वि,क कम मात्रामा छन् । यहाँको अधिकांस घरहरु भुकम्प पछाडी पक्की बनेका छन भने केहि मात्रामा ढुङ्गा माटोका घरहरु रहरको छ ।याँहाका मानिसहरु अधिकांस रुपमा हिन्दु धर्म मान्ने छन् भने बौद्ध, क्रिचियन, धर्म मान्ने मानिसहरुको पनि बसोवास रहेको छ। धेरै मानिसहरु नेपाली भषा बल्ने गर्दछन् भने नेपालीको अलावा तामाङ् भाषा बोल्ने तामाङ् समुदाय पनि धेरै मात्रामा रहेका छन् । यस विद्यालयको सेवा क्षेत्र भित्र एकमात्र सामुदायिक विद्यालय रहेको छ ।
विद्यालयको सेवा क्षेत्रः
धुलिखेल नगरपालिका वडा नं. २ अन्तर्गत सम्पुर्ण टोल, धुलिखेल नगरपालिका वडा नं. २ अन्तर्गतको पश्चिममा मितिनछाप, धुलिखेल नगरपालिका वडा नं. २ अन्तर्गतको उत्तरमा छागे टोल सम्म यस विद्यालयको कार्य क्षेत्र रहेको छ ।
भौतिक अवस्था
विद्यालयमा २०७२ सालको भूकम्प पछिको भवन निर्माणको कार्य २०७७ साल मंसिरमा सम्झौता भई नेपाल सरकार र एशियाली विकास वैङ्कको आर्थिक सहयोगमा २१ कोठे भवन निर्माण कार्य सम्पन्न् भई २०७९ सालमा सम्पन्न भएको छ र हाल यसै भवनमा कक्षाहरु सञ्चालन भइरहेको छ भने विद्यालयले आर्थिक वर्ष २०८१/८२ मा धुलिखेल नगरपालिकाको समन्वयमा सहरी विकास मन्त्रालय, नेपाल सरकारबाट ३ कोठे भवन प्राप्त गरी बार्षिकोत्सवको अवसरमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
विद्यालयको आर्थिक अवस्था
सामाजिक परिक्षण अनुसार आर्थिक वर्ष २०८१/०८२ को विद्यालयको जम्मा आम्दानी रु ५४७८१५९.९७ र खर्च रु ५७००६५५.९७/– रहेको थियो । आ.व. २०८१/८२ को अन्त्यमा कृषि विकास बैँकको मुद्दति खातामा रु १५०५०००.००/– र रा.बा. बैँकहरुको चल्ति खाताको जम्मा बैँक मौज्दात १६७६०४.५५ /– रहेको छ ।
विद्यालयमा ऐतिहासिक अक्षय कोषको स्थापना
विद्यालय साझा थलो हो । यो सामूहिकता प्रदर्शन गर्ने, सहकार्य, समझदारीमा आधारित भई सेवा क्षेत्रमा रहेका बाल बालिकाहरुलाई शिक्षाको ज्योति फैलाउने दीप हो । यहाँ विभिन्न सामाजिक पृष्ठभूमीबाट अध्ययनका लागि आउने गर्दछन् । यसै सन्दर्भमा यस विद्यालयलाई अक्षयकोष स्थापना गर्नुभएको छ ।
अक्षय कोषहरु
१. कुलमाया स्मृति पुरस्कार (हरिगोपाल कर्मचार्य) रु १५,०००।–
२. अमिरि देवी.साह ( अनिल कुमार साह,पुर्व प्र.अ.) रु २०,०००।–
३. लायन्स क्लब अफ अमेरिका (रामहरि धिताल) रु १,५९,०००।–
४. विश्वामित्र स्मृति अक्षय कोष (भेष कुमारि चौंलागाई) रु १,००,०००।–
विद्यालयको दुरदृष्टि
सेतीदेवी मा.वि.लाई सुविधासम्पन्न डिजिटल विद्यालयको रुपमा रुपान्तरण गरी जिवनयापनका लागि आवश्यक आधारभुत (व्यवहाकुशल सिप) सिपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने सँस्थाको रुपमा स्थापित गरी नवप्रवर्तनकारी, समालोचनात्मक चिन्तनयुक्त, विश्वव्यापिकरण सोचाई भएको सँस्कारयुक्त विद्यार्थी उत्पादन गर्ने रहेको छ ।






