ज्योति मिर्मिरे साकोसद्वारा विषादी सचेतना कार्यक्रम सम्पन्नः ७१ जना कृषक लाभान्वित
पनौती, काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी वित्तीय संस्था ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यहरूको स्वास्थ्य र सुरक्षित कृषि उत्पादनलाई प्राथमिकता दिँदै विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा शनिबार पनौतीमा आयोजित उक्त कार्यक्रममा कृषि क्षेत्रमा बढ्दो रासायनिक विषादीको जोखिम र यसको सही व्यवस्थापनका बारेमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय क्षेत्रका ७१ जना कृषक तथा सहकारी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
स्वास्थ्य नै सबैभन्दा ठूलो धन
कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा रहेका तोया नाथ जोशीले सहजीकरण गर्दै विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा परिरहेको गम्भीर असरबारे प्रष्ट पारेका थिए। उनले विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षात्मक उपाय र जैविक विषादीको प्रवर्द्धनमा जोड दिन सहभागीहरूलाई आग्रह गरेका छन्।
दिगो र उत्कृष्ट वित्तीय सहकारी को लक्ष्य बोकेको यस संस्थाले केवल बचत र ऋणको कारोबारमा मात्र सीमित नभई समुदायको सर्वाङ्गीण विकासमा कार्य गर्दै आएको छ। संस्थाले आफ्ना विभिन्न सेवा केन्द्रहरू (पनौती, बनेपा, कुशादेवी, बेथानचोक, जनज्योति र रोशी) मार्फत सदस्यहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन र प्राविधिक ज्ञान प्रदान गर्दै आइरहेको छ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष सापकोटाले भने, हाम्रा सदस्यहरू आर्थिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि स्वस्थ रहनुपर्छ भन्ने हाम्रो चाहना हो। आगामी दिनमा पनि संस्थाले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।






