आजको हाम्रो शिक्षा
शिक्षा केवल कोरा ज्ञान थुपार्ने कर्म होइन,
परीक्षाका अङ्क मात्र जीवनको धर्म होइन।
दैनिकीमा अर्थ खोज्ने दृष्टि जब पलाउँछ,
त्यही क्षण शिक्षाले मानवता जगाउँछ।
पुस्तकका पाना मात्र ज्ञान होइनन् आजको,
चेतनामा झल्किने अनुभूति नै शिक्षा हो।
जीवन बुझ्ने, जीवन सहज बनाउने कला यही,
देख्ने,भोग्ने साधनाबाट अर्थ खोज्ने दीक्षा सही।
सूत्र, सिद्धान्त कण्ठ गर्दा चेत नखुल्ने रहेछ,
अनुभूति विना ज्ञान शून्यमा झुन्डिने रहेछ।
हृदयले नछुने पाठ त्यो निष्प्राण बोझ बन्छ,
जीवनसँग नजोडिने शिक्षा पनि मौन हुन्छ।
समाज आफैँ खुला पाठशाला आजको युगमा,
पीडा, श्रम, संघर्ष बोले प्रत्यक्ष अनुभूतिमा।
न्याय–अन्याय देखाउँदै प्रश्न सोध्न सिकाउँछ,
समाजले नै शिक्षालाई जीवनतर्फ डोर्याउँछ।
शिक्षक केवल वक्ता होइन, पथप्रदर्शक हुने,
अनुभूतिको द्वार खोलेर ती त चेतना जगाउने।
ज्ञान थोपर्ने होइन, अर्थ जन्माउन सिकाऊन्,
विद्यार्थीको चेतनामा उज्यालो भर्न सकून्॥
“म जान्दछु” भन्ने अहं त्याग्ने क्षणमै गुरुले,
सहयात्री बन्दै हिंड्छन् शिष्यसँगै पथिकले।
प्रश्नलाई स्वागत गर्ने परिपाटी जब रहुन्छ,
त्यही कक्षामा शिक्षा सजीव भएर बग्दछ।
विद्यार्थी पनि पात्र होइन, ती त चेतन प्राणी हुन्,
देख्ने, बुझ्ने, अर्थ गर्ने सक्रिय साधक बन्दछन्।
अनुभवबाट जीवन सजिलै बुझ्न सिक्ने,
आफ्नै दृष्टिले संसार पढ्ने चेतना त्यो झिक्ने।
रटानले होइन प्रश्नबाट चेत त्यो खुल्दा मात्र,
ज्ञान आत्मसात् हुन्छ अनुभवको उज्यालो साथ।
गल्ती पनि पाठ बन्छ जीवन बुझ्ने क्रममा,
शिक्षा सहज बन्छ जब भोगाइ छ मनमा।
आजको शिक्षा भन्नाले बजारको माल होइन,
डिग्रीको मोहमा हराउने त्यो त जाल होइन।
बाँच्ने कला सिकाउने साधना हो यो शिक्षा,
जीवन सहज बनाउने चेतनशीलताको दीक्षा।
प्रत्ययशास्त्र भन्छ— “पहिले अनुभूतिलाई हेर”,
पूर्वधारणा त्यागी अनि जीवन आफैँलाई फेर।
कक्षामा पनि यही भाव जब बग्न थाल्छ,
शिक्षा चेतनाको तब साँचो रूप त जाग्छ।
समाज, शिक्षक, विद्यार्थी त्रिपथको संगममा,
अनुभूतिको दीप बल्छ चेतनाको मन्दिरमा।
एकले देखाउँछ यथार्थ, एकले अर्थ खोल्छ,
एकले आत्मसात् गरी जीवनलाई बोल्छ।
यसैले शिक्षा बनोस् अनुभूतिको उत्सव,
जहाँ चेतना जागोस्, मरोस् अन्धविश्वास।
आजको हाम्रो शिक्षा जीवन जिउने कला हो,
कोरा ज्ञान होइन अनुभूति यसको मूलशिला हो।
भोला के.सी. (भट्टराई), बनेपा, बुडोल






