राष्ट्रिय सभा चुनावमा महागठबन्धन प्रयास असफल, नेकपा एक्लै चुनावी मैदानमा
काठमाडौं / माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको चुनावी तालमेल प्रयास असफल भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनबाट बाहिरिएको छ । यससँगै प्रमुख दलहरूबीच महागठबन्धन बनाएर चुनाव लड्ने प्रयास तत्काललाई टरेको छ ।
राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि कांग्रेस र एमालेले भागबण्डा मिलाएर उम्मेदवार चयन गरिसकेका छन् । कांग्रेसले ९ र एमालेले ८ सिटमा दाबी गर्दै उम्मेदवार तयार पारेका छन् ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई एक सिट दिने समझदारी कांग्रेस–एमालेबीच भएको छ । मधेशमा जसपा तेस्रो ठूलो दल हो भने अन्य प्रदेशमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी छन् ।
कांग्रेस र एमालेले भागबण्डा गरेपछि नेकपाले गठबन्धनबाट अलग हुने निर्णय लिएको हो । नेकपाले अब सबै ठाउँमा एकल उम्मेदवारी दिने तयारी गरेको छ । निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । माघ ११ गते मतदान हुनेछ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखहरू मतदाता हुन्छन् ।
सात प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी कुल १५०६ मतदाता छन् । यी मतदाताले रिक्त १९ मध्ये १८ पदका लागि मतदान गर्नेछन् । मनोनित सदस्य वामदेव गौतमको सट्टामा भने सरकारले सिफारिस गर्नेछ ।






