महन्थ ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता
काठमाडौँ / राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले प्रस्तावमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहेका छन् भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी छन् ।
जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदै छ । दलित, अल्पसंख्यक/अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदै छ । मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन् ।






