आहा ! स्वर्गद्वारी
पावनभूमी स्वर्गद्वारी प्युठान जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालको सात धामहरुमध्ये कै एक महत्वपूर्ण पवित्र धाम हो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ ।
स्वर्गद्वारी समुन्द्री सतहवाट २ हजार एक सय २१ मिटरको उचाईमा रहेको छ । यहाँ करिव २६०० रोपनी क्षेत्रफलमा आश्रम अवस्थित रहेको छ । स्वर्गद्वारी धार्मिक तथा ऐतिहासिक हिसाबले जति महत्व रहेको छ, त्यति नै प्राकुतिक सुन्दरताले भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मिटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौ हिम श्रंखलाहरु आफ्नै आँखाले अवलोकन गर्न पाईन्छ । स्वर्गद्वारीको आँगनबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी, मनास्लु लगायत हिमश्रृंखला देखिन्छ ।
नेपालमामा जस्तै उत्तर भारतमा पनि स्वर्गद्वारी निकै प्रसिद्ध छ । प्रत्येक बर्ष हजारौको संख्यामा भारतीय तीर्थयात्रीहरु दर्शनका लागि आउने गर्दछन् । स्वर्गद्वारी प्रभु महाराजप्रति उनीहरुको ठूलो बिश्वास छ ।
मन्दिर परिसरमा सयौंको संख्यामा गाईपालन समेत गरिएको छ । यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले मन्दिरमा निश्चित समयमा आउने भक्तजनलाई खाना र बासको प्रबन्ध मिलाउने गर्छ । धर्मलाई नै विश्वास गर्ने हो भने प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दूको तीर्थयात्रा नै पूरा हुँदैन।
शदाब्दीभन्दा अघि देखिको धुनी
विक्रम संवत् १९५२ मा महाप्रभु भनिने नारायण गौतमले स्वर्गद्वारीमा आश्रम स्थापना गर्न महायज्ञ गरे पछि भारतीय तीर्थयात्रीहरूको आकर्षण बढेको बताइन्छ।
यहाँको महत्त्वपूर्ण विशेषता महायज्ञमा बालिएको धुनी हो। त्यो धुनी अहिलेसम्म पनि निरन्तर बलिनै रहेको छ। अर्थात् एक शदाब्दीभन्दा अघि देखिको आगो स्वर्गद्वारीको निरन्तर साक्षी बन्दै आएको छ।






