च्याम्राङबेसीमा चक्रेश्वर माविको बृहत् पुनर्मिलन कार्यक्रम

by | पुस २५, २०८२

च्याम्राङबेसीमा चक्रेश्वर माविको बृहत् पुनर्मिलन कार्यक्रम

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेसीस्थित चक्रेश्वर माध्यमिक विद्यालयमा पूर्व शिक्षक, पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघको सहभागितामा बृहत् पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन दाहालले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री  कन्चन चन्द्र बादे र विशिष्ट अतिथि बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री  सुरेश श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले आफू धेरै विद्यालयका कार्यक्रममा सहभागी हुँदै आएको भए पनि यो कार्यक्रम अन्यभन्दा फरक र भावनात्मक रहेको बताए। विद्यालयको स्थापना कालदेखि हालसम्म योगदान पुर्‍याउने सबै पक्षको स्मरण र सम्मान गर्नु नै पुनर्मिलन कार्यक्रमको विशेषता भएको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री  सुरेश श्रेष्ठले विद्यालय केवल शैक्षिक ज्ञान दिने स्थान मात्र नभई संस्कार, संस्कृति र सामाजिक चेतना निर्माण गर्ने केन्द्र भएको बताए। उनले चक्रेश्वर माध्यमिक विद्यालयले उत्पादन गरेका जनशक्तिले विभिन्न क्षेत्रमा योगदान दिँदै आएको उल्लेख गर्दै शिक्षा, संस्कृति र स्थानीय पहिचानलाई जोडेर विद्यालयको समग्र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

यस्तै, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चक्रेश्वर माध्यमिक विद्यालय गाउँपालिकाको शैक्षिक पहिचानको रूपमा स्थापित भएको उल्लेख गरे। उनले विद्यालयको स्थापना देखि हालसम्म योगदान गर्ने शिक्षक, व्यवस्थापन समिति र अभिभावकप्रति आभार व्यक्त गर्दै स्थानीय सरकारले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, अतिथि महाकाल गाउँपालिकाका अध्यक्ष गणेश केसी, बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिना, निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना र वडा नं. ३ का अध्यक्ष कुबेर ढकाललगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरेका अनुसार विद्यालयको स्थापना वि.सं. २०१२ सालमा भएको हो। २०५२ सालदेखि एसएलसी परीक्षा सञ्चालन भएको र २०६७ सालदेखि कक्षा १२ सम्मको पठनपाठन सुरु गरिएको उनले जानकारी दिए। बृहत् पुनर्मिलन कार्यक्रम आज र भोलि दुई दिनसम्म सञ्चालन हुने बताइएको छ।