काँग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

काठमाडौँ / नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको आज हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो ।

काँग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो ।

शनिबार दोश्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले एक विज्ञप्ति जारी गर्दै पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ । आइतबार हुने विशेष महाधिवेशन समुद्घाटन समारोह भने उनको श्रद्धा र सम्मानका साथ प्रारम्भ गर्ने सचिवालयले जनाएको छ । 

सचिवालयले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।  दाहालको शुक्रबार साँझ निधन भएको थियो । 

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् ।