पार्टी विभाजन रोक्न कांग्रेस नेता भण्डारी–शर्माले थाले दबाब अभियान
नेपाली कांग्रेसमा सम्भावित विभाजन रोक्ने उद्देश्यका साथ नेता डा.चन्द्र भण्डारीसहितका नेताहरूले पार्टी एकताको पक्षमा दबाब अभियान सुरु गरेका छन्।
पार्टी निर्णयविपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको जोखिममा पुगेको भन्दै उनीहरूले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका हुन्।
पत्रकार सम्मेलनमा नेता भण्डारीलगायतका नेताहरूले संस्थापन र इतर दुवै पक्षलाई एकतामा केन्द्रित हुन आग्रह गर्दै पार्टीलाई फुट्न नदिन आफूहरू सक्रिय भएको बताए।
डा.भण्डारीले भने, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ। पार्टीलाई फुट्न नदिने कित्तामा छौँ। विशेष महाधिवेशनमा पार्टी सभापतिसहित सबै नेता सहभागी हुनुपर्छ। मुलुकलाई संकटबाट जोगाउन पनि कांग्रेसलाई एकताबद्ध राख्न आवश्यक छ।’
यसैगरी, कांग्रेस नेता डा.सुनिल शर्माले विशेष महाधिवेशनमा सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापन पक्षका नेताहरू पनि सहभागी हुने विश्वास व्यक्त गरे। उनले सभापति देउवालाई सम्मानजनक विदाई गर्न आफूहरू तयार रहेको उल्लेख गरे।
डा. शर्माले भने, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ। पार्टी सभापति देउवाको सम्मानजनक विदाई र पार्टी एकताको पक्षमा हामी छौँ।’
नेता शर्माले डा.शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताए।






