सुगन्ध साकोसको ८ औं वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित
बनेपा÷सुगन्ध बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत गंगा प्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष कुमार मैनालीको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटा, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, मदानी विट अनलाइनका सह–सम्पादक विकास तिमल्सिना, सञ्चालक समितिका पदाधिकारी एवं सदस्य, कर्मचारी र शेयरसदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मैनालीले नियम कानुनको परिधिभित्र रहेर शेयर सदस्यको आर्थिकस्तर उकास्न सुगन्ध साकोसले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । सहकारीको मूल आधार नै सदस्यको विश्वास, पारदर्शिता र सामुहिक प्रयास रहेको उनको भनाई छ । हल्लाको भरमा आफ्नो धारणा बनाउन भन्दा समय–समयमा कार्यालयमा उपस्थित भएर आवश्यक सल्लाह सुझाव दिन, सहकारीको अवस्था वुझ्न पनि उनले आग्रह गरेका छन् । केहि सहकारीले गरेको गलत क्रियाकलापको अपजस सिंगो सहकारीले बोक्नु परेको भन्दै उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने दृष्टिकोणको विकास जरुरी रहेको बताए । सहकारीको माध्यमबाट उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक उत्तरदायित्व विभिन्न कार्य भइरहेको उनले जानकारी दिए । अध्यक्ष मैनालीले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा र सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी मालपोत अधिकृत गंगा प्रसाद पोखरेलले उद्यमशीलता प्रवर्धनमा सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । केहि विकृति सहकारीमा पनि देखिएको भन्दै उनले असल अभ्यास गरिरहेका सदस्यमुखी संस्था आज पनि सदस्यको आशा र भरोसाका रुपमा रहेको बताए ।
जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटाले बचत रकम सहि ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए । नकारात्मक विषय बढी फैलिँदा सहकारीमा समस्यै समस्या रहेको जस्तो देखिएको पनि उनले बताएका छन् । यस्तै सचिव विकास बुढाथोकीले सहकारीलाई सक्षम, पारदर्शी, दिगो र सदस्यमुखी बनाउने प्रयास निरन्तर भइरहेको बताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य वोजराज सेढाईले राखेका थिए ।
साधारण सभाकै अवसर पारेर उत्कृट कर्मचारीका रुपमा लेखापाल स्वस्तिका कार्की र संचालक समिति उपाध्यक्ष राजु लामालाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको छ । संस्थाको शेयर पुँजी ३ करोड ९ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको छ ।






