काभ्रेपलाञ्चोकमा झण्डै १७ प्रतिशत जनसंख्या गरिबीको रेखाभन्दा तल
काभ्रेपलाञ्चोक जिल्लामा झन्डै १७ प्रतिशत जनसंख्या गरिबीको रेखा भन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकमा गरिबीको दर १६.४२ प्रतिशत रहेको छ । काभ्रेपलाञ्चोकमा ९१ हजार ३ सय ३० घरपरिवारमा ३ लाख ५८ हजार ७ सय २२ जनसंख्या रहेको छ । जसमध्ये ५८ हजार ८ सय ९० गरिव जनसंखाय रहेको तथ्यांकले देखाएको छ । गरिबीको विषमता ३.१८ र गहनता ०.९१ प्रतिशत रहेको छ । वागमती प्रदेशमा गरिबी दर धेरै हुने जिल्लाको सूचीमा काभ्रे ७ औं स्थानमा रहेको छ । बागमती प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा धेरै गरिबी दर सिन्धुलीमा रहेको छ ।
वागमति प्रदेशको कुन जिल्लामा कति गरिबी दर ?
सिन्धुलीमा ३४.०२ प्रतिशत
रामेछापमा २५.०७ प्रतिशत
मकवानपुरमा २३.४६ प्रतिशत
सिन्धुपाल्चोकमा २१.७५ प्रतिशत
रसुवामा १७.३० प्रतिशत
धादिङमा १६.६५ प्रतिशत
काभ्रेमा १६.४२ प्रतिशत
नुवाकोटमा १६.०१ प्रतिशत
दोलखा १५.५३ प्रतिशत
चितवनमा १२.८८ प्रतिशत
ललितपुरमा ११.७२ प्रतिशत
भक्तपुरमा ९.३३ प्रतिशत
काठमाडौंमा ८.३३ प्रतिशत
नेपालमा झन्डै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखाभन्दा तल रहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०५२ सालदेखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ । आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ ।
यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२ हजार ९ सय ८ को नयाँ गरिबीको रेखा निर्धारण गरिएको छ । यसअघि २०६६/६७ सालमा गरिबीको रेखा १९ हजार २ सय ६१ निर्धारण गरिएको थियो । नयाँ गरिबीको रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति कुल खर्च ७२ हजार ९ सय ८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिबको वर्गमा राखिएको छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा ११.८८ प्रतिशत छ । कोशी प्रदेशमा १७।१९, मधेश प्रदेशमा २२।५३, बागमती प्रदेशमा १२.५९, लुम्बिनी प्रदेशमा २४.३४ र कर्णाली प्रदेशमा २६.६९ प्रतिशत गरिबीको दर रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार पालिकास्तरको विश्लेषण गर्दा ३ सय ९ वटा पालिकाको गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम रहेको छ भने ४ सय ४४ वटा पालिकाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी छ । पालिकामा गरिबीको दर न्यूनतम १.१८ प्रतिशतदेखि अधिकतम ७७.८९ प्रतिशतसम्म रहेको छ ।
पालिकास्तरमा हेर्दा सबैभन्दा बढी गरिबीको दर जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७.८९ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात् १.१८ प्रतिशत मुस्ताङको घरपझोङ गाउँपालिकामा रहेको छ ।
गरिबीको रेखाभन्दा तल रहेको जनसङ्ख्या सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी काठमाण्डौ महानगरपालिकामा ९५९ हजार २ सय १८० रहेको छ । काठमाण्डौ महानगरपालिकामा गरिबीको दर ६।८७ प्रतिशत रहेको छ ।
जिल्ला तहको विश्लेषण गर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा ४९.५८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशको कास्की जिल्लामा ५.६३ प्रतिशत रहेको छ । जिल्लागत रूपमा हेर्दा ३४ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा कम र ४३ जिल्लाको गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।






