१८ महिनाअघि त्रिशूली नदीमा खसेको बसको अवशेष भेटियो

काठमाडौं / १८ महिनाअघि मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला परेको छ।

भरतपुर महानगरपालिका(२९, स्थित सिमलतालमा भएको दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का र केही टिनका भाग फेला परेको छ । 

आज बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ। चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले अनुसार गाडिएको अवस्थामा फेला परेको बसको अवशेषबारे अनुसन्धान भइरहेको छ।