बनेपाकी संस्कृति २२ वर्षकै उमेरमा बनिन् पाइलट
धर्तिबाट आकाशको दुरी त्यति सहज छैन । साहस र संघर्षले मात्रै यो यात्रा सम्भव बनाउन सक्छ । कडा परिश्रम, निरन्तरको लगाव र दृढ इच्छाशक्तिविना यो सम्भव छैन । त्यसमाथी पनि छोरीले घरको काम मात्रै गर्नुपर्छ भन्ने सोच राख्ने नेपाली समाजमा महिलाका लागि त अपत्यारिलो र असम्भव नै ठानिन्छ ।
परम्परागत सोच, महिला भएकै कारण भोग्नुपर्ने अनेकौं चुनौतीलाई झेल्दै २२ वर्षको उमेरदेखिनै पाइलट बनेर आकाशमा उडिरहेकी छिन् काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ७ निवासी संस्कृति श्रेष्ठ ।
संस्कृतिको जन्म २०५८ साल माघ ५ गते स्व.आमा रोजकुमारी श्रेष्ठ तथा पिता जित बहादुर श्रेष्ठको कोखबाट भएको हो ।
दृढ इच्छाशक्ति र निरन्तर मेहनत भयो भने असम्भव केहि छैन भन्ने उदाहरण बनेकी छिन् संस्कृति ।
उनले १६ वर्षको उमेरमा बनेपामा रहेको समता शिक्षा निकेतन माविबाट एसएलसी उत्तीर्ण गरिन्। १८ वर्षको उमेरमा बनेपामै रहेको बेलर इन्टरनेश्नल एकेडेमीबाट कक्षा १२ उत्तीर्ण भइन् ।
पाइलट बनेर सेवा गर्ने संकल्प बोक्नुभएकी संस्कृतिलाई जसरी पनि आफ्नो सपना पुरा गरेरै छाड्नु थियो । त्यसपछि सन् २०२० देखि २२ सम्म साउथ अफ्रिकामा फ्लाइट ट्रेनिङ सर्भिस सुरु गरिन् ।
सन् २०२३ उनको सपनालाई विपना बनाएको वर्ष बन्यो । अर्थात यहि वर्ष साउथ अफ्रिकाबाट पाइलट लाइसेन्स प्राप्त गरिन् ।
हाल उनले श्री एयर लाइन्सबाट व्यवसायिक उडान गराइरहेकी छिन् । नेपाली आकाशमा ८२ सिट क्षमताको विमानमा काठमाडौंबाट–सुर्खेत, पोखरा, विराटनगर, धनगडी, भैरहवा लगायत देशैभर हजारौंलाई आकाशको यात्रा गराइरहेकी छिन् । ।
संस्कृति छोरीले सक्छिन् र ? भन्नेहरुलाई म सक्छु भनेर आँट गर्ने छोरीहरुको प्रेरणा, काभ्रेको पहिचान र देशको भविष्य हुन् । उनी चुनौतीलाई अवसरमा बदल्दै आकाशमा उडीरहनुभएकी जिल्लाकै कान्छि पहिलो महिला विमान पनि चालक हुन् ।





