पौष २८ गते सोमबारसम्म निर्वाचन प्रहरीका लागि काभ्रेमा ८ सय ३७ जनाको आवेदन

by | पुस २८, २०८२

पौष २८ गते सोमबारसम्म निर्वाचन प्रहरीका लागि काभ्रेमा ८ सय ३७ जनाको आवेदन

धुलिखेल/प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ काभ्रेमा सोमबार साँझसम्म निर्वाचन प्रहरीका लागि ८ सय ३७ जनाले आवेदन दिएका छन् । आवेदन दिने समय माघ १ गतेसम्म तोकिएको छ । सार्वजनिक विदाको दिनमा समेत आवेदन दिन सकिने प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सूचना अधिकारी रविन विष्टका अनुसार माघ १ गतेसम्म निर्वाचन प्रहरीका लागि तोकिएको मापदण्ड पुरा भएका नागरिकहरुले आवेदन दिन सक्नेछन् । ‘आवेदनको अवधी सकिए पछि उनिहरुलाई आवश्यक तालिम उपलब्ध गराईनेछ’–डिएस्पी विष्टले भने–‘आवेदन दिन नागरिकहरुको उत्साह छ ।’ १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका ब्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।
जिल्लाका लागि २ हजार २ सय ६९ जना निर्वाचन प्रहरी आवश्यक छ । फागुन २१ गतेको लागि तय भएको निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आव्हान गरेको हो । पुस २५ गते देखि आवेदन खुल्ला भएको हो । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले दरखास्त फाराम जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा.पाँचखालबाट प्राप्त गर्न सकिने बताए । यस्तै दरखास्त फाराम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको वेवसाईटबाट समेत डाउनलोड गर्न सकिन्छ ।