गरिबीको उच्च दर महाभारतमा ४७.०४ प्रतिशत, पाँचखालमा सबै भन्दा कम ५.५१ प्रतिशत

by | पुस २९, २०८२

गरिबीको उच्च दर महाभारतमा ४७.०४ प्रतिशत, पाँचखालमा सबै भन्दा कम ५.५१ प्रतिशत

मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा गरिबीको अवस्था स्थानीय तहअनुसार निकै फरक देखिएको छ । तथ्याङ्क अनुसार जिल्लाको समग्र गरिबी दर १६.४ प्रतिशत रहे पनि केही स्थानीय तहमा यो दर अत्यन्तै उच्च छ भने केही स्थानमा न्यून छ । 
तथ्याङ्क अनुसार महाभारत गाउँपालिकामा गरिबी दर ४७.०४ प्रतिशत पुगेको छ । जुन जिल्लामै सबैभन्दा उच्च हो । त्यस्तै खानीखोला गाउँपालिकामा ३५.१६ प्रतिशत गरिबी दर रहेको छ । तेमाल गाउँपालिमा ३१.५६ प्रतिशत गरिवी रहेको छ । स्थानीय तहमा गरिबीको गहनता र विषमता पनि उच्च देखिएको छ । महाभारत गाउँपालिकामा गरिबीको विषमता ११.१९ प्रतिशत र गहनता ३.७ प्रतिशत हुनु आर्थिक असमानता गहिरो रहेको सूचक मानिन्छ ।
सहरी तथा अर्धसहरी क्षेत्रहरूमा भने गरिबीको दर तुलनात्मक रूपमा कम देखिएको छ । पाँचखाल नगरपालिकामा गरिबी दर ५.५१ प्रतिशत, धुलिखेल नगरपालिकामा ६.२१ प्रतिशत, बनेपा नगरपालिकामा ८.०८ प्रतिशत र पनौती नगरपालिकामा ९.१७ प्रतिशत मात्र रहेको छ । यी क्षेत्रमा रोजगारीका अवसर, शिक्षा, पूर्वाधार र बजार पहुँच राम्रो भएकाले गरिबी न्यूनीकरणमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
विश्लेषकहरूका अनुसार काभ्रेपलाञ्चोकमा गरिबी एकरूप छैन । ग्रामीण, भौगोलिक रूपमा विकट तथा सीमित पूर्वाधार भएका स्थानीय तहमा गरिबी गहिरो र व्यापक देखिएको छ । त्यसैले एकै किसिमको नीति सबै ठाउँमा लागू गर्नु प्रभावकारी नहुने उनीहरूको निष्कर्ष छ । उच्च गरिबी भएका महाभारत, खानीखोला, तेमाल जस्ता गाउँपालिकामा लक्षित सामाजिक सुरक्षा, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र आधारभूत सेवामा पहुँच विस्तार आवश्यक देखिन्छ । उता सहरी क्षेत्रमा सीपमूलक तालिम र साना उद्यम प्रवद्र्धनमा जोड दिनुपर्ने देखिन्छ ।
काभ्रेपलाञ्चोक जिल्लाको गरिबीसम्बन्धी तथ्याङ्कले स्थानीय तहअनुसारको स्पष्ट असमानता उजागर गरेको छ । गरिबी न्यूनीकरणका लागि स्थानीयतामा आधारित योजना, स्रोतको न्यायोचित वितरण र दीर्घकालीन विकास रणनीति अपरिहार्य देखिन्छ । जिल्लामा झन्डै १७ प्रतिशत जनसंख्या गरिबीको रेखा भन्दा तल रहेको देखिएको छ । यो तथ्यांक नेपालको अनुपातमा कम हो । जिल्लाका पालिकाहरुको तथ्यांक नेपालको गरिवी प्रतिशत भन्दा पनि माथी देखिएको छ । 
नेपालमा करिव २०.२७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी रहेका छन् । ग्रामिण भेगमा २४.६६ प्रतिशत र शहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान–२०२३ प्रतिवेदन अनुसार काभ्रेपलाञ्चोकमा गरिबीको दर १६.४२ प्रतिशत रहेको छ । काभ्रेपलाञ्चोकमा ९१ हजार ३ सय ३० घरपरिवारमा ३ लाख ५८ हजार ७ सय २२ जनसंख्या रहेको छ । जसमध्ये ५८ हजार ८ सय ९० गरिव जनसंखाय रहेको तथ्यांकले देखाएको छ । गरिबीको विषमता ३.१८ र गहनता ०.९१ प्रतिशत रहेको छ । वागमती प्रदेशमा गरिबी दर धेरै हुने जिल्लाको सूचीमा काभ्रे ७ औं स्थानमा रहेको छ । बागमती प्रदेशका १३ जिल्ला मध्ये सबैभन्दा धेरै गरिबी दर सिन्धुलीमा रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले विक्रम सम्बत् २०५२/५३ देखि नेपाली जनताको जीवनस्तर मापन तथा मौद्रिक गरिवी मापनको लागि नेपाल जीवनस्तर सर्वेक्षण संचालन गर्दै आएको छ । पछिल्लो पटक २०७९/२०८० मा नेपाल जीवनस्तर सर्वेक्षण चौथो सम्पन्न गरि त्यसको नतिजा सार्वजनिक गरिसकेको छ । पछिल्लो पटक गरिवी मापन गर्दा प्रति वर्ष प्रतिव्यक्ति जम्मा खर्च रु. ७२,९०८/– भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिव अन्र्तगत वर्गिकरण गरिएको छ । स्थानीय तहहरुको गरिवीको तथ्याङ्कको आवश्यकतालाई पुरा गर्न राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तरराष्ट्रिय स्तरमा प्रचलित लघुक्षेत्र अनुमान विधिको प्रयोग गरी सवै स्थानीय तहहरुको गरिवीको तथ्याङ्क अनुमान गरेको छ । लघुक्षेत्र अनुमान प्रतिवेदनमा स्थानीय तह अनुसारको गरिवीको दर, गरिवीको विषमता र गरिवीको गहनता, गरिव संख्याको अनुमान गरि प्रस्तुत गरिएको छ । गरिवीको दरले गरिवीको रेखामुनी रहेको जनसंख्याको हिस्सा मापन गर्दछ । गरिवीको विषमता सूचकले गरिवीको रेखामुनी रहेको जनसंख्या गरिवीको रेखाभन्दा औषत कति टाढा छन् भन्ने मापन गर्दछ भने गरिवीको गहनताले गरिवहरु विचको असमानता मापन गर्दछ । 
सार्वजनिक तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लामा गरिवीको रेखामुनी रहेका जनसंख्या ५८ हजार ८ सय ९० (१६.४ प्रतिशत) छन् भने जिल्लामा गरिवीको विषमता र गरिवीको गहनता क्रमश: ३.१८ प्रतिशत र ०.९१ प्रतिशत रहेको छ । स्थानीय तह अनुसार सवैभन्दा वढी गरिवीको दर महाभारत गाउँपालिकामा ४७.०४ प्रतिशत र सवैभन्दा कम पाँचखाल नगरपालिकामा ५.५१ प्रतिशत रहेको छ । त्यस्तै गरिवीको विषमता र गरिवीको गहनता पनि महाभारत गाउँपालिकामा सवैभन्दा धेरै ११.१९ प्रतिशत र ३.७ प्रतिशत रहेको छ भने सवैभन्दा कम पाँचखाल नगरपालिकामा ०.८९ प्रतिशत र ०.२३ प्रतिशत रहेको छ । गरिव संख्या सवैभन्दा धेरै महाभारत गाउँपालिकामा ७ हजार ५ सय ६४ जना रहेका छन् । त्यस पछि नमोवुद्ध नगरपालिकामा ७ हजार १ सय ५१ जना र मण्डनदेउपुर नगरपालिकामा ५ हजार ९ सय ७१ जना रहेका छन । गरिव संख्या सवैभन्दा कम पाँचखाल नगरपालिकामा १ हजार ९ सय ५८ जना रहेका छन् भने धुलिखेल नगरपालिकामा २ हजार ९४ जना रहेको तथ्यांक समन्वय कार्यालय काभ्रेमा कार्यरत सुपरिवेक्षक सन्तोष कार्कीले जानकारी दिए । वागमति प्रदेशको सिन्धुलीमा ३४.०२ प्रतिशत, रामेछापमा २५.०७ प्रतिशत, मकवानपुरमा २३.४६ प्रतिशत, सिन्धुपाल्चोकमा २१.७५ प्रतिशत, रसुवामा १७.३० प्रतिशत, धादिङमा १६.६५ प्रतिशत, काभ्रेमा १६.४२ प्रतिशत, नुवाकोटमा १६.०१ प्रतिशत, दोलखा १५.५३ प्रतिशत, चितवनमा १२.८८ प्रतिशत, ललितपुरमा ११.७२ प्रतिशत, भक्तपुरमा ९.३३ प्रतिशत, काठमाडौंमा ८.३३ प्रतिशत रहेको छ ।