धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु साँच्चैका ‘भगवान’ !

by | पुस ३०, २०८२

धुलिखेल अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु साँच्चैका ‘भगवान’ !

धुलिखेल/धुलिखेल अस्पताल २९ औ वर्ष पुरा गरी ३० औ वर्ष आरम्भ गरेको छ । यो वर्ष अस्पतालले स्थापना देखि हालसम्म विभिन्न रुपमा सहयोग पु¥याउने विशिष्ट ब्यक्तिहरुको सम्मान गरिरहेको छ । सममानित शिक्षासेवी तथा समाजसेवी चुनियाँलाल माकजु श्रेष्ठले अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु श्रेष्ठ साँच्चै भगवानका रुपमा प्रकट भई लाखौ विरामीहरुको ज्यान बचाउन सफल हुनु भएको बताए ।
माघ १ गते संक्रान्तिको दिन सार्वजनिक विदा परेकाले अस्पतालले पौष ३० गते मसान्तको दिनमा माघी पर्व समेत मनाएको छ । सोहि अवसरमा अस्पताल स्थापनाका महत्वपूर्ण ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा धुलिखेलका समाजसेवी, शिक्षासेवी चुनियालाल माकजु, शिवनारायण भुखजु र कृष्णगोपाल धुजु रहेका छन् । अस्पताल संस्थापक एवं निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठले उहाँरुलाई सम्मान गर्दै उहाँहरुको योगदान र उहाँहरुले सिकाएको ज्ञान तथा शिक्षा सधै स्मरणमा राख्ने बताए । ‘अस्पताल गरिवहरुका लागि खोलिएको हो, गरिवहरुलाई प्रयोगशाला बनाउन होईन’–प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठले भने–‘अस्पताल सबैका लागि हुनुपर्छ । गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य र समन्वयको आवश्यक छ ।’
अस्पतालका लागि आर्थिक श्रोत ब्यवस्थापन र गुणस्तर कायम राख्ने मुख्य चुनौती भएको डा.रामकण्ठ माकजु श्रेष्ठले बताए । इतिहास सम्झने, इतिहासको सम्मान गर्ने र त्यसलाई निरन्तरता दिने सम्भावना हुने उनले बताए । कार्यक्रममा सम्मानित ब्यक्तित्व शिक्षासेवी चुनियालाल माकजुले डा.रामकण्ठ नामको मात्रै होईन भावनाको पनि भगवान भएको बताए । ‘डा.रामकण्ठ सबैको भगवान हुन् । रोगिहरुलाई निरोगी बनाउन, बेरोजगारहरुलाई रोजगार दिन र धुलिखेल अस्पताल जस्तो स्वास्थ्य संस्थालाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल भए । लाखौको ज्यान बचाए । सयौंको जिविका चलेको छ । अवसर नै अवसर सिर्जना भएको छ’–शिक्षासेवी चुनियाँलाल माकजुले भने–‘उनी पढ्न आउँदा सधै बल लिएर कक्षा कोठामा आउँथे । बल खेलिरहन्थे । विदेशमा पुगेर पनि उनले खेललाई प्राथमिकतामा राखे । त्यो भन्दा महत्वपूर्ण विषय चाँहि भविश्यमा के बन्छौ भनेर सोध्दा डाक्टर भन्थे । डाक्टर बने त भ्याकुता चिर्नु पर्छ भन्दा भोलिपल्ट नै उनी भ्याकुता ल्याएर कक्षा कोठामा चिरेर देखाउँथे ।’ ‘पछि उनी डाक्टर नै बने’ –चुनियाँलाल माकजुले भने । डा.रामकण्ठ माकजु त्यतिबेला एसएसलसीमा बोर्ड दशौ भएका थिए ।
सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, धुलिखेल स्वास्थ्य संघका पदाधिकारीहरु, धुलिखेल अस्पतालका विभिन्न विभागका प्रमुखहरु, अस्पतालमा कार्यरत विभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । स्त्री रोग विशेषज्ञ डा.आभा श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रममा धुलिखेल अस्पतालको ३० वर्षे इतिहासका बारेमा जानकारी गराईएको थियो । ४० वर्ष अघि धुलिखेलमा एउटा पनि क्लिनिक र अस्पताल थिएन । धुलिखेलका शिवनारायण मुखजु स्वास्थ्य विषय पढेका थिए । उनी सामान्य उपचार गर्थे । रातभर सुत्न पाउँदैन थिए । सबैले उनको आवश्यकता महसुस गर्दथे । सुत्केरी हुन नसकेका गर्भवती महिलाको उपचार देखि सामान्य अवस्थाका विरामीका लागि पनि शिवनारायण उपस्थित हुनु पर्दथ्यो । उनी लगायतको समुह चुनियालाल माकजु, कृष्णगोपाल धुजु सहितले पारिवारीक क्लिनिक संचालनमा ल्याए । दर्ता गर्न खोज्दा सरकारी कार्यालयमा ब्यक्तिको पारिवारीक क्लिनिक दर्ता हुँदैन भनेर फकाईयो । धुलिखेल पारिवारिक क्लिनिक पछि दर्ता भयो । त्यहि संस्था धुलिखेल स्वास्थ्य सेवा संघ हुँदै धुलिखेल अस्पतालका रुपमा संचालित रहेको शिक्षासेवी चुनियाँलाल माकजुले बताए । अस्पतालले सोहि कारण उहाँहरुलाई सम्मान गरेको डा.आभा श्रेष्ठले बताईन् ।