अझ संयमित र एकताबद्ध भएर अगाडी बढ्न आवश्यक: प्रधानमन्त्री
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबास रहेको थारु समुदाय देश विदेशमा समेत फैलिँदै गएको बताइन् । जो जहाँ पुगे पनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुसरण गर्नुपर्ने उनको भनाई छ ।
उनले माघ १ गते नेपालका विभिन्न समुदायहरूले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताइन् । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उनको भनाई छ । उनले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गरे ।
उनले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताए ।






