निर्वाचन आयोगमा गगन समूहको धर्ना, आयोगले मान्यता नदिए आन्दोलन गर्ने पूर्णबहादुर खड्काको चेतावनी
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ।
शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडि धर्ना दिएका हुन्।
आयोग अगाडि नेताहरु पलेँटी कसेर धर्नामा बसेका हुन्। शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरु आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए।
आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो। हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो।
थापा समूहले बिहीवार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो।
यस्तै शेरबहादुर देउवाले नेतृत्व गरिरहेको कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त्यस्तो अवस्था आए देशभर आन्दोलन गर्ने बताए ।






