देउवा पक्षका नेता कार्यकर्तालाई गालिगलौज नगर्न गगन–विश्वको निर्देशन

by | माघ २, २०८२

देउवा पक्षका नेता कार्यकर्तालाई गालिगलौज नगर्न गगन–विश्वको निर्देशन

नेपाली कांग्रेसका सभापतिमा गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षका नेता कार्यकर्तालाई लक्षित गरेर कुनै पनि गालिगलौज नगर्न निर्देशन दिएका छन्।

पार्टीको आधिकारिकता विवाद बढिरहेका बेला थापा र शर्माले अर्को पक्षका नेता कार्यकर्तालाई सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट गालिगलौज नगर्न र नेताहरुलाई घृणा नगर्न सर्कुलर गरिसकेको उक्त पक्षका एक पदाधिकारीले बताए।

‘भोलि हामीले आधिकारिकता पाए पनि सबैलाई मिलाएर समेटेर अगाडि बढ्नु पर्ने हुन्छ। अहिले अर्को पक्षमा रहेका नेतालाई गालि गलौज नगर्नू भनेर सभापति र उपसभापतिले भनिसक्नु भएको छ’, ती पदाधिकारीले भने।

यसअघि देउवा पक्षले भने आफूहरुलाई गगन थापा पक्षका नेताकार्यकर्ताले सामाजिक सञ्जालमा गालिगलौज गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

अहिले निर्वाचन आयोगमा दुई समूह भेला भएका छन्। आयोगभित्र गगन थापा समूह रहँदा बाहिर देउवा पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।