नयाँ दलमाथि पनि जनविश्वास संकटमै, टिकाउपनप्रति ७५ प्रतिशत नागरिक सशंकित
राजनीतिक दलप्रति नागरिकको धारणा समग्रमा आलोचनात्मक रहेको एक सर्वेक्षणले देखाएको छ। पुराना राजनीतिक दलहरूबाट आमूल सुधारको अपेक्षा कमजोर बन्दै गएको र नयाँ दलहरूप्रति पनि पूर्ण भरोसा जम्न नसकेको तथ्य सार्वजनिक भएको छ। सेन्टर फर पोलिसी रिसर्चद्वारा सम्पन्न पूर्व निर्वाचन धारणा सर्वेक्षण–२०८२ अनुसार ७५ प्रतिशत नागरिक नयाँ राजनीतिक दलहरूको दीर्घकालीन टिकाउपनप्रति सशंकित छन्।
आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखेर गरिएको सर्वेक्षणले दलप्रति जनविश्वास कमजोर बन्दै गएको संकेत गरेको छ। अध्ययनमा सहभागी उत्तरदाताहरूले पुराना दलहरू पटक–पटक सत्तामा पुगे पनि नागरिकको जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याउन नसकेको धारणा व्यक्त गरेका छन्। यही अनुभवका कारण पुराना दलहरूबाट ठूला सुधारको अपेक्षा घट्दै गएको देखिन्छ।
नयाँ राजनीतिक दलहरूलाई नागरिकले वैकल्पिक शक्तिका रूपमा हेरे पनि ती दलहरू दीर्घकालीन रूपमा टिक्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा व्यापक शंका देखिएको छ। सर्वेक्षण अनुसार आधाभन्दा कम नागरिकले मात्र नयाँ दलप्रति विश्वास व्यक्त गरेका छन्। बहुसंख्यक उत्तरदाताले नेतृत्वको स्थायित्व, संगठनात्मक क्षमता र नीतिगत स्पष्टताको अभावलाई नयाँ दलप्रतिको अविश्वासको मुख्य कारणका रूपमा लिएका छन्।
यसैबीच, मतदातामा परिवर्तनको चाहना भने प्रष्ट देखिन्छ। अघिल्लो निर्वाचनमा मतदान गरेको दल दोहोर्याउनुभन्दा नयाँ विकल्प खोज्ने सोच बनाउने मतदाताको संख्या बढी देखिनुले दल प्रणालीप्रतिको असन्तुष्टि गहिरिँदै गएको संकेत गर्छ। तर नयाँ विकल्पप्रति समेत पूर्ण भरोसा नजम्दा नागरिक राजनीतिक अन्योलको अवस्थामा रहेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणले दलप्रतिको विश्वास कमजोर भए पनि नागरिक लोकतान्त्रिक प्रक्रियाबाट विमुख नभएको चित्र प्रस्तुत गरेको छ। अधिकांश उत्तरदाताले निर्वाचनमा सहभागिता जनाउने इच्छा व्यक्त गरेका छन्। यसले दलप्रति असन्तुष्टि भए पनि निर्वाचनलाई परिवर्तनको सम्भावित माध्यमका रूपमा हेरिने प्रवृत्ति कायमै रहेको देखाउँछ।
विश्लेषकहरूका अनुसार यो सर्वेक्षणले दलहरूलाई स्पष्ट सन्देश दिएको छ—नाम, इतिहास वा नयाँपन मात्रै पर्याप्त छैन। विश्वसनीय नेतृत्व, स्पष्ट नीति र दीर्घकालीन प्रतिबद्धता प्रस्तुत गर्न नसकेसम्म पुराना र नयाँ दुवै दलप्रति जनविश्वास पुनःस्थापित हुन कठिन देखिन्छ। आगामी निर्वाचनमा यही विश्वास संकटले दलहरूको चुनावी परिणाममा प्रत्यक्ष प्रभाव पार्ने सम्भावना रहेको सर्वेक्षणको निष्कर्ष छ।





