संवादबाटै कांग्रेसको विवाद सल्टिन्छ, फेरि एक ढिक्का हुन्छौँ : नेता शेखर कोइराला
काठमाडौं / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवादलाई संवादकै माध्यमबाट किनारा लगाउन सकिने विश्वास व्यक्त गरेका छन् । शनिबार पार्टी मुख्यालय सानेपा जानुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले कांग्रेसमा देखिएको वर्तमान अन्योल र तिक्तता चाँडै अन्त्य हुने दाबी गरेका हुन् ।
नेता कोइरालाले पार्टीमा देखिएको विवादलाई स्वाभाविक प्रक्रियाका रूपमा अर्थ्याउँदै संवादले नै फेरि मिलनविन्दु पहिल्याउने बताए । ‘विश्वमा ठूला-ठूला युद्धहरू पनि अन्ततः संवादकै टेबुलबाट समाधान भएका छन् । त्यसैले कांग्रेसभित्रको यो मतभेद पनि संवादबाटै सल्टिन्छ,’ कोइरालाले भने, \हामी फेरि मिल्छौँ र मिलाउनुपर्छ। कांग्रेसलाई पुनः एकीकृत बनाउनुको विकल्प छैन ।’
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई शुक्रबार मात्रै निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो । आयोगको उक्त निर्णय सार्वजनिक हुनुअघि नै सभापति शेरबहादुर देउवा पक्षले पत्रकार सम्मेलन गरी आफ्नो पक्षमा निर्णय नआए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।
आयोगको पछिल्लो कदमपछि सिर्जित परिस्थिति र पार्टीको आगामी रणनीति तय गर्न विघटित केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोही बैठकमा सहभागी हुन जानुअघि कोइरालाले पार्टीको एकता कायम राख्न लचिलो हुनुपर्ने र संवादमा जोड दिनुपर्ने संकेत गरेका हुन् ।






