बनेपामा १५ दिने विन्टर फुटबल क्याम्प सम्पन्न, खेलमार्फत स्वस्थ र अनुशासित नागरिक उत्पादनमा जोड
बनेपा / बनेपा फुटबल एकेडेमीद्वारा आयोजित १५ दिने विन्टर फुटबल क्याम्प सम्पन्न भएको छ । विद्यालयहरूमा जाडो बिदा हुने समयलाई लक्षित गर्दै पुस १९ गतेदेखि सञ्चालन भएको क्याम्प आज एक विशेष कार्यक्रमका बीच समापन गरिएको हो ।
समापन समारोहका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले खेलकुदले शारीरिक स्वास्थ्यसँगै अनुशासन, नेतृत्व र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहले बालबालिका र युवालाई खेलतर्फ आकर्षित गर्न निरन्तर लगानी र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बनेपा नगरपालिकाले खेल पूर्वाधार र प्रतिभा विकासमा प्राथमिकता दिँदै आएको बताए ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीले खेलले मानिसलाई स्वस्थ बनाउने बताउँदै २०७४ सालदेखि नै बनेपा नगरपालिकाले खेल क्षेत्रको क्रमागत विकास गर्दै आएको जानकारी दिए । उनले वडा कार्यालयमार्फत विद्यालय–विद्यालय र बाल क्लबहरूसँग समन्वय गरी बालबालिकालाई खेल क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।
एकेडेमीका अध्यक्ष निरोज शाक्यले बिदाको समयमा विद्यार्थीहरू खाली बस्दा कुलततर्फ नजाओस् र खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले क्याम्प सञ्चालन गरिएको बताए । क्याम्पमा ८ वर्षदेखि १६ वर्ष उमेर समूहका ८४ जना बालबालिकाले सहभागिता जनाएका थिए । उनले भविष्यमा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गरिएको स्पष्ट पारे ।
समापन कार्यक्रममा क्याम्पमा सहभागी खेलाडीहरूको सम्मान, प्रशिक्षकहरूको योगदानको कदर तथा कार्यक्रमबाट हासिल उपलब्धिबारे जानकारी गराइएको थियो ।
यसै अवसरमा काभ्रे जिल्लाको फुटबल विकासमा लामो समयदेखि योगदान पुर्याउँदै आएका एकेडेमीका सदस्य फिरोज शाक्यलाई सम्मानपत्र प्रदान गरिएको छ । थाइल्याण्डमा सम्पन्न आठौं हीरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप २०२५ मा स्वर्ण पदक जिती काभ्रे जिल्ला तथा राष्ट्रको छवि उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको हो ।
बनेपा फुटबल एकेडेमीका अध्यक्ष निरोज शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, विशेष अतिथिमा एकेडेमीका सल्लाहकार तथा एन्फाका केन्द्रीय सदस्य विकास नारायण शाक्य, बागमती प्रदेश फुटबल संघका अध्यक्ष एवं सल्लाहकार निरोज श्रेष्ठ, वडा नं। ५ का वडा अध्यक्ष बलराम अधिकारी तथा वडा सदस्य कृष्ण गोपाल वैद्यलगायतको उपस्थिति रहेको थियो ।






