जेनजी आन्दोलनपछिको पहिलो राष्ट्रिय सभा बैठक ७ मिनेटमै सकियो

by | माघ ४, २०८२

जेनजी आन्दोलनपछिको पहिलो राष्ट्रिय सभा बैठक ७ मिनेटमै सकियो

काठमाडौं / जेनजी आन्दोलनपछि बसेको राष्ट्रिय सभाको पहिलो बैठक आइतबार साढे ७ मिनेटमै सकिएको छ । चालू अधिवेशनको पहिलो दिन दुई वटा कार्यसूची पेस भएका थिए ।

पहिलो कार्यसूचीमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाइएको थियो भने दोस्रो कार्यसूचीमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिएको थियो । दुवै कार्यसूची अनुसार बैठक सञ्चालन भई साढे ७ मिनेटमै समाप्त भयो ।

बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास रहेकाले बैठक छोटो समयमा टुंगिएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गते बस्ने गरी सभाध्यक्ष नारायण दाहालले आजको बैठक स्थगित गरेका छन् । आगामी बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैदिन अध्यादेश पेस गर्ने कार्यसूची पनि रहेको छ । यसबीच सरकारले मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनसम्बन्धी अध्यादेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरिसकेको छ ।

आगामी बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिबाट राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ र पर्यटन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।