बन्दुक सहित पाँचखालका सुजन पक्राउ, बनेपामा पनौतीका सुवाषको कोठामा लागू औषध फेला
काभ्रे प्रहरीले पछिल्लो तीन दिनमा विभिन्न घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज विज्ञपीत जारी गर्दै अपराधका घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो । भरुवा बन्दुक सहित पाँचखालका सुजन तामाङ पक्राउ परेका छन् । माघ १ गते साँझ मण्डनदेउपुर नगरपालिका वडा नं.७ नैबिसमा खटिएको प्रहरी टोलीले मण्डनदेउपुर नगरपालिका वडा नं. ३ नयाँगाउँबाट हिंगुवापाटी बजारतर्फ आउदै गरेको बागमति प्रदेश ०३–००७ प.९२९७ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा भरुवा बन्दुक सहित तामाङ पक्राउ परेका हुन् । पाँचखाल नगरपालिका वडा नं.– १ वस्ने सुकमान तामाङको छोरा वर्ष ३२ को सुजन तामाङले लुकाई छिपाई ल्याएको एक थान भरुवा बन्दुक बारुद लोड गरेको अवस्थामा फेला पारीएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए । यता, बनेपामा लागू औषध सहित पनौतीका एक युवा पक्राउ परेका छन् । माघ २ गते बनेपा नगरपालिका वडा नं. ८ बनेपा कोलोनी स्थित दिनेश भोछिभोयाको घरको भुई तल्लामा डेराकोठा गरी बस्ने पनौती नगरपालिका वडा नं. २ घर भएको बर्ष २४ को स्यान्त्री भन्ने सुवाष तामाङको कोठामा लागू औषध फेला पारेको छ । लागुऔषध जस्तो देखिने क्याप्सुल १ पत्तामा १० चक्कीको दरले ७० पत्ता बरामद गरेर सुवाष तामाङलाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको को म्याद अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबिच माघ ३ गते धुलिखेल नगरपालिका वडा नं. ९ काभ्रेभञ्ज्याङ स्थित बिपी राजमार्गमा बिलबिजक भन्दा बढी ल्याइएको सामान प्रहरीले बरामद गरेको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा जनकपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ ख ११०४ नम्बरको आईचर ट्रक गाडीमा लोड गरी ल्याएको बिभिन्न किसिमका सामानहरुको साथमा रहेको बिल बिजक भन्दा बढी रहेको पाईएकोले उक्त सामान बरामद गरिएको काभ्रे प्रहरीले जनाएको छ । ४८ लाख ज्ञघ हजार छ सय रुपैयाँ बराबरको सामानहरु नियन्त्रणमा लिईएको हो ।





