ढल्यो रातो बाघ, इतिहास बन्यो बामपन्थी आस्थाको दस्तावेज: स्व. गोबिन्दनाथ उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली सहित !

by | माघ ५, २०८२

ढल्यो रातो बाघ, इतिहास बन्यो बामपन्थी आस्थाको दस्तावेज: स्व. गोबिन्दनाथ उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली सहित !

म बाल्यकालको उत्तराद्र्धमा थिए । मण्डनदेउपुर–९ मा रहेको डेडीथुम्का मा.वि.मा पढ्थें । पठनपाठनको साथमा राजनीतिक जिम्मेवारीको हिसाले म अनेरास्ववियूको डेडीथुम्का प्रा.क.को अध्यक्ष थिएँ । गोबिन्दनाथ उप्रेती आज कुन्ता वेसीमा आउनेरे, साथमा विदुर सापकोटापनि ! सुन्दा मन फुरुङ्ग भयो । नभन्दै आउनु भयो । दुबै जनाको भाषण मजाले सुन्ने अवसर प्राप्त भयो । थोरै बोलेर मैले यति बोलें, धेरै कुरा नेता विदुरबाट सुन्नु भनेको म जीवनभर कहिल्यै विर्षन सक्दिन । दुःखको साथ भन्नु पर्छ, आज त्यो दुबै व्यक्तित्व अब हाम्रो विचमा रहनुभएन । स्व. विदुर सापकोटालाई सम्झंदै गोबिन्दनाथ उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणका केहि शब्दगुच्चाहरु अर्पण गर्न चाहन्छु ।

पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलनसम्म जनताकै पक्षमा लड्ने यो नाम आजका पुस्ताका लागि राजनीतिक संस्कार र आदर्शको जीवित पाठशाला हो । उहाँको नाम एउटा व्यक्तित्व मात्रै हैन, त्यो त काभ्रेली जनताको गर्जन, वाम आन्दोलनको बलियो दस्तावेज र जनपक्षीय सोचको आधारशिला हो ।

काभ्रेली जनताको मतले पटकपटक जितेका गोविन्द सधैं सादा जीवन, उच्च विचार र निडर राजनीतिमा अडिग रहँदै आउनु भयो । राजनीति उहाँका लागि न कमाउने माध्यम थियो, न पदकै मोह । नेपालको समकालिन राजनीतिमा उहाँ जस्ता जनप्रतिनिधिहरू कमै भेटिन्छन्, जसले जनताको मतलाई विश्वास, जवाफदेहिता र जिम्मेवारीका रूपमा लिए ।
काभ्रेको बामपन्थी इतिहासमा गोबिन्दनाथ केबल एउटा तस्विरमात्र नभई कम्यूनिष्ट दस्तावेज समेत हो । उहाँ जस्ता नेताहरूलाई हेर्दा आजको दिनमा धेरैलाई गर्व हुन्छ कतिपय काभ्रेलीहरु भन्छन् – हामी गोविन्द उप्रेतीहरूका मतदाता हौं, चेला हौं । उहाँ वर्तमानको विकृत राजनीति र बिकाउ प्रवृत्तिको सन्दर्भमा गोविन्दजस्ता पात्रहरू नै प्रेरणा, प्रतिवद्धता र प्रतिबिम्ब हुन् ।
पुराना कम्युनिष्ट नेताको रुपमा आफ्नो छबि बनाउन सफल गोबिन्दनाथ उप्रेती तीन पटक सांसद् हुनुभएको इतिहास छ । उहाँ एक पटक नेपाल सरकारको मन्त्रीको रुपमा श्रम राज्यमन्त्रीसम्म भैसक्नु भएको छ । कुनै बेला काभ्रे जिल्लाको रातो बाघको रूपमा परिचित उप्रेतीप्रभि जहिल्यौ द्धद्दा भाव रहिरहने छ । । खास गरी काभ्रेको कोसी पारी क्षेत्रको विकासको पर्याय मानिनुहुथ्यो उप्रेती । त्यतिमात्र नभएर नागरिकको सारथि मानिनु हुन्थ्यो उहाँ ।
हक्की र स्वाभिमानी स्वभाका उप्रेती जनताका समस्यालाई आफूसँग जोड्नु हुन्थ्यो । नागरिकका पीडालाई आफ्नो पीडा ठान्नुहुन्थ्यो । त्यसैले नागरिकका पीडामा उहाँको रगत भुलुक्कै उम्लन्थ्यो । मल नपाएका किसानलाई बाटोमै गाडी रोकेर मल झार्न लगाउनुहुन्थ्यो । नागरिकका समस्या आफू अघि लागेर हिँड्नु हुन्थ्यो । उहाँको जुझारुपनलाई मन नपराउनेहरू गुण्डा र डन पनि भन्ने गर्थे ।
काभ्रेको कोसी पारी क्षेत्रमा सडक निर्माणमा उहाँको ठुलो योगदान रह्यो । उहाँले कोसी पारी क्षेत्रमा सडक अभियान नै चलाउनुभयो । त्यसैले गाउँ गाउँमा सडक पुगे । दुर्गम मानिने कोसी पारीका गाउँ सुगम बने । त्यो गोविन्द उप्रेतीको जमाना थियो । सायद गोविन्द उप्रेतीको जमाना सकियो । उहाँले यस धर्तीबाट बिदा लिनु भएको कुरा आज अमिलो बनिरहेको छ । लामो समय वृद्ध शरिर बोकेर उप्रेती काभ्रेस्थित कोसी पारी भुम्लु पौवा स्थित आफ्नो घरमा दिनचर्या बिताउादै आउनु भएको थियो ।

देशका पूर्व मन्त्रीका त के कुरा गर्नु पूर्व सांसदका पनि काठमाडौं र सहरमा घर छन् । अब त नगर र गाउँपालिका अध्यक्षले पनि बनाइसके । कतिपयका त भव्य महल छन् । तर गोविन्दको महल भन्नु भुम्लूको घर । परिवार भन्नु आफू एक्लो जीवन रहँदै आएको थियो । त्यही सम्पत्ति, घर, महल सत्ता, शक्ति नभएकै कारण त उहाँ एक्लै हुनुहुन्छ । गाउँको घरलाई आफ्नो संसार ठान्दै आउनु भएको उहाँको दुःखद स्वर्गारोहणको खबरले समग्र काभ्रेली बामपन्थी आन्दोलनमा ठूलो क्षतीको महसुश भएको छ । गोविन्दका सन्तान भएनन् । निकै पछि वुढेसकालमा विवाह गर्नु भएको उप्रेतीको श्रीमतीको पनि केही वर्ष अघि निधन भैसकेको छ । त्यस पछि कुनै जमानाका काभ्रेली जनताका ढुकढुकी गोविन्द एक्लो हुनुभयो ।
वि.सं २०२५ सालदेखि राजनीतिमा लाग्नुभएका गोविन्दसँग मृत्युपर्यन्त राजनीतिक चेत थियो । राजनीतिले नै परिवर्तन गर्न सक्छ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्थ्यो । तर अब दौड धूप गर्ने तागत छैन । तथापि कम्युनिष्टहरु धुजा धुजा भएकोमा उहाँलाई चिन्ता थियो । २०३५ सालतिर आफ्नै जग्गा दिएर घर छेउमा घर बनाएर राखिइदिएका विपन्न पहरी परिवार अहिले उहाँका छिमेकी बन्नुभएको छ । छिमेकी मात्रै के भन्नु सहारा पनि अहिले उहाँहरू नै बन्दै आउनु भएको थियो र एक्लोपनको सारथी ।

गोविन्दले पद, प्रतिष्ठा र सम्पत्तिको लोभ गर्नुभएन । त्यसैले उहाँ सहर बस्नै परेन । गाउँमै बस्ने र गाउँको सुद्ध खानेकुरा खाने अवसर जु‍¥यो गोविन्दलाई । उहाँलाई अहिले पनि कांग्रेस, कम्युनिष्ट वा राजनीतिमा खासै चासो नराख्ने मान्छेले पनि त्यतिकै आदर्श पात्र मान्छन् । माया गर्छन्, सम्मान जनाउँछन् । त्यसैले मानिसहरू भेट्न गइरहन्थे । त्यो नै जीवनमा उहाँले आर्जन गरेको सम्पत्ति थियो ।

समग्र काभ्रेपलाञ्चोकको बाबजुद त्यतिबेलाको दूर्गम भनेर चिनिने काभ्रेको कोसीपारी क्षेत्रमा मोटर बाटोको अभियान नै चलाउनुभएका गोविन्दको आफ्नै घरमा पुग्ने भने खासै मोटर बाटो छैन । उहाँको घरमा पुग्न गाउँबाट अलिकति हिँड्नु पर्छ । यी मोटर बाटोका अभियन्ताको घरमा मोटर बाटो पुर्‍याइदिने बारे स्थानीय सरकारले किन नसोचेको होला, त्यतिचाहिं गरिदिनुपथ्र्यो ।
राजनीतिमा लागेर देश र जनताको लागि त्याग तपस्या र बलिदान गर्ने यस्ता नेताहरू जीवनको उत्तरार्धमा यसै गरी एक्लै पर्ने हो भने राजनीति के को लागि ? कष्टपूर्ण त्याग बलिदान र योगदान के को लागि ? खासमा यस्ता ज्यूँदा इतिहासलाई राज्यले संरक्षण गर्नुपथ्र्यो । नत्र मान्छे राजनीतिमा किन र कसरी लागिरहन सक्छर ? अनि राजनीतिमा लागेर कमाउने बाहेक सेवा गर्ने हो भन्ने कसरी सोच्दछ, यो गम्भिर विषय हो ।

यसरी सम्झँदै अन्त्यमा, भन्नै पर्ने भयो–ढल्यो रातो बाघ ! इतिहास बन्यो बामपन्थी आस्थाको काभ्रेली दस्तावेज भन्दै भारी मनका साथ याबत कुराहरु मनमा खेलाउँदै भन्दैछु, भावपूर्ण श्रद्धाञ्जली, अल विदा गोबिन्दनाथ उप्रेती कमरेड !