योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ
काठमाडौं/ नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई अपील गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिएकै कारण प्रतिनिधिसभाको टिकट काटिएका उनले एक सोमबार भिडियो सन्देश जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन सबैजना एकजुट भएर मैदानमा उत्रिनुपर्ने बताएका हुन् ।
उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणबारे सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा आफूले सचिवालय बैठकमा फरक मत राखेको पनि बताए ।
उनले पार्टी केन्द्रीय कार्यालयमा ४ बुँदे लिखित फरक मत दर्ज गरेकाले चुनावपछि त्यसबारे अध्यक्ष केपी शर्मा ओलीसँग छलफल र समीक्षा हुने बताएका छन् । उनले अहिलेलाई सबैजना चुनावको तयारीमा लाग्नुपर्ने पनि बताएका छन् ।






