गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि धुलिखेल नगरपालिका र अस्पताल बीच सम्झौता

by | माघ ५, २०८२

गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि धुलिखेल नगरपालिका र अस्पताल बीच सम्झौता

धुलिखेल/स्वस्थ शहर धुलिखेलमा स्वास्थ्य सेवा अझै प्रभावकारी र गुणस्तरीय बनाउन नगरपालिका र धुलिखेल अस्पताल बीच समझदारी भएको छ । काभ्रे भन्ज्याङ्गमा रहेको नगरपालिकाले निर्माण गरेको स्वास्थ्य भवनबाट पहिलो चरणमा अस्पतालले विशेषज्ञ सेवा, तालिम, दीर्घ रोगको उपचार लगायतका सेवा प्रारम्भ गर्नेछ ।

नगरपालिकाका अन्य वडाहरुमा क्रमशः सेवा विस्तार गर्ने, स्वास्थ्य सँग सम्वन्धित विषयमा तालिम प्रदान गर्ने, अनुसन्धनात्मक सेवाहरु उपलब्ध गराउने लगायतका कार्यहरु गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जु, अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्रा.डा रामकण्ठ माकजु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, अस्पतालका प्रशासकीय अधिकृत डा.विराजमान कर्माचार्य लगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले दक्षिण एशिया र नेपालमै नमुना स्वस्थ शहर धुलिखेललाई अझै प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न समझदारी महत्वपूर्ण हुने बताए । सबै नागरिकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवाका लागि उक्त समझदारीले थप सहयोग पुग्ने नगर प्रमुख ब्याञ्जुले बताए । अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठले स्वास्थ्य सेवामा धुलिखेल नमुना रहेको बताए । पहिले धुलिखेल र खानेपानी, अनि धुलिखेल शिक्षा अहिले धुलिखेल र स्वास्थ्य एक अर्काको परिपुरक रहेको उनले बताए । धुलिखेलमा शुरु भएको गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम जिल्लाका अरु पालिका र धुलिखेल अस्पतालका विभिन्न केन्द्रहरु मार्फत पनि प्रदान गरिने डा.रामकण्ठ माकजुले बताए ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.विराजमान कर्माचार्य, डा. आभा श्रेष्ठ लगायतले समझदारीले धुलिखेलबासीहरुलाई स्वास्थ्य सेवामा थप सहजता हुने बताए ।