बखुण्डोल बुद्ध पार्क धुलिखेल–४ मा सोनाम ल्होछार मनाईयो, बृहत सांस्कृतिक कार्यक्रम

by | माघ ५, २०८२

बखुण्डोल बुद्ध पार्क धुलिखेल–४ मा सोनाम ल्होछार मनाईयो, बृहत सांस्कृतिक कार्यक्रम

धुलिखेल/धुलिखेल नगरपालिका, वडा कार्यालय तथा विभिन्न संघ संस्थाहरुको समन्वयमा संस्कृति संरक्षण गर्ने उदेश्यले हरेक वर्ष ल्होछार कार्यक्रमका अवसरमा विविध कार्यक्रम आयोजनाका लागि समन्वय गर्दै आएको छ । धुलिखेल वडा नम्वर ४ मा रहेको बखुण्डोल बुद्ध पार्कमा यो वर्ष पनि हरेक वर्ष झै ल्होछार कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमका साथ मनाईएको छ ।
२८६२ औ मञ्जुश्री सम्वत ता (घोडा) ल्हो सोनाम ल्होछारका अवसरमा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले चाडपर्व संरक्षण तथा प्रर्वद्धनका लागि हरेक वडामा हुने विविध कार्यक्रमलाई संरक्षण गर्दै आएको बताए । ल्होछारको महत्व, ऐतिहासिकतासँगै नेपाल र नेपालीको इतिहास जोडिएकाले यसको संरक्षण र प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक हुने उनले बताए । बखुण्डोल बुद्ध पार्कका अध्यक्ष सत्यमान लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा, धुलिखेल नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, धुलिखेल नगरपालिका पुर्व उपप्रमुख विमला शर्मा, योग समिति अध्यक्ष सिता सुवेदी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, स्थानीय संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रका सामाजिक ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । सोनाम ल्होछारको अवसरमा आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रमले तामाङ समुदायको मौलिक संस्कृतिसँगै नेपाली बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बताए । वडा मार्फत कृष्ण अष्टमीमा कन्या पूजा लगायतका विशेष कार्यक्रमहरु आयोजना गरिएको छ भने तीज तथा अन्य सामाजिक कार्यहरुमा पनि प्राथमिकता राखिएको अध्यक्ष तिमल्सिनाले बताए ।
बखुण्डोल बुद्ध पार्क, धुलिखेल नगरपालिका वडा नम्वर ४, आदिवासी जनजाति परिषद्, प्रगतिशील वडा स्तरीय बाल क्लव धुलिखेल ४ को आयोजना रहेको उक्त कार्यक्रममा प्रयास दोङ, कोशिश थोकर, सरु गौतम, उत्तर लामा, सानुबाबु घिसिङ, सञ्जिव घिसिङ्, संगिता लामा दोङ लगायतका कलाकारहरुको सहभागिता रहेको थियो । तामाङ समुदायको परम्परा अनुसार पुजा विधी सकेर आयोजित औपचारिक कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सोनाम ल्होछारको शुभकामना ब्यक्त गरेका थिए ।
ल्होछारको सांस्कृतिक, धार्मिक र सामाजिक महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष सत्यमान लामाले बताए । परम्परागत तामाङ संस्कृतिलाई झल्काउने दाङबोला ग्युईठिम समूहद्वारा सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।