एमाले नेताहरूलाई घरदैलो अभियानमा जुट्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर–५ का पार्टी नेताहरूलाई जनताका घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन निर्देशन दिएका छन्। शुक्रबार झापा–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सबै तहका नेताकर्मीलाई योजनाबद्ध ढंगले घरदैलो अभियान सञ्चालन गरी एमालेलाई मत दिने वातावरण बनाउन आग्रह गरे।
बैठकमा केन्द्रीय, प्रदेश, जिल्ला कमिटीका पदाधिकारीदेखि पालिका तहका नेताहरूको सहभागिता थियो। अध्यक्ष ओलीले एमाले नेतृत्वमा सम्पन्न विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त आधार भएको दाबी गर्दै विपक्षीले फैलाएका भ्रमको खण्डन गर्न दृढताका साथ प्रचारमा लाग्न निर्देशन दिए।
‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदा अवस्था कस्तो थियो र अहिले कस्तो छ भन्ने कुरा तपाईंहरूले राम्रोसँग देख्नुभएको छ,’ अध्यक्ष ओलीले भने, ‘त्यतिबेला धुलाम्मे सडक मात्र थिए, पिच सडक हेर्न राजमार्गसम्म जानुपर्थ्यो। आज गाउँ–टोलसम्म पिच सडक पुगेका छन्। यो एमाले नेतृत्वको उपलब्धि हो। जनताले बुझिसकेका छन्, तर फेरि पनि स्मरण गराउन आवश्यक छ।’
अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका घटनाहरू देशलाई अस्थिर बनाउने उद्देश्यले गराइएको दाबी पनि गरे। नवयुवाहरूले उठाएका मागहरू नाजायज नभए पनि त्यसपछि भएको घुसपैठका कारण स्थिति बिग्रिएको उनको भनाइ थियो।
‘ती घटनालाई देखाएर एमालेलाई दोषी ठहर गर्न खोजिँदै छ,’ उनले भने, ‘यस्ता आधारहीन आरोपको प्रतिवाद गर्नुपर्छ। त्यसका लागि पार्टी पंक्तिलाई जनताका घर–घरमा पुर्याऔँ र हरेक मतदातासँग सम्पर्क विस्तार गरौँ।’






